PalikaNews
किन मैले खुलेर भन्न सकिनँ ? “आमा, म तपाईंलाई धेरै माया गर्छु”
आज कुशे औँसी—आमाको मुख हेर्ने दिन । देशभरि सन्तानहरू आफ्नी आमाको हात समाउँदै, माया साट्दै, मिठा परिकार खुवाउँदै आशीर्वाद लिँदै रमाइला तस्विरहरु समाजिक सञ्जालहरुमा पोष्ट गर्दै रमाइरहेका छन् । घरघरमा हाँसो छ, खुशी छ, कृतज्ञताको उज्यालो छ । तर यही दिन मेरो जीवनमा भने एउटा गहिरो खालीपन लिएर आउँछ—त्यस्तो खालीपन, जसलाई कुनै शब्दले व्यक्त गर्न सकिँदैन, कुनै सम्झनाले भरिन सक्दैन।
आज पनि बिहान आँखा खुल्ने बित्तिकै मनले पहिलो चोटि आमालाई नै खोज्यो । त्यो बानी अझै मेटिएको छैन । तर यथार्थ फेरि उही कठोर सत्य लिएर मेरो अगाडि उभियो, मेरो त्यो आवाज सुन्ने, माया गरेर बोलाउने, मेरो हरेक भावना बुझ्ने आमा अब यस संसारमा हुनुहुन्न । उहाँलाई गुमाएको चार वर्ष बितिसक्यो, तर समयले मेरो मनको घाउमा मलम लगाउन सकेको छैन । बरु, हरेक वर्ष यो दिन आउँदा त्यो पीडा अझ गहिरो हुन्छ, अझै ताजा हुन्छ ।
आमा केवल जन्म दिने व्यक्ति मात्र हुनुहुन्न । उहाँ मेरो जीवनको पहिलो शिक्षक, पहिलो साथी, पहिलो संरक्षक र सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्थ्यो । मैले जीवनमा जे सिकेँ, जे बुझें, जसरी बाँच्न सिकें त्यसको जग उहाँकै हातले बनाइएको हो । सानो छँदा मेरा साना गल्तीहरूमा पनि रिसाउनुभन्दा बढी माया गरेर सच्याउने उहाँको शैली आज पनि सम्झिन्छु । जब म हार्थें, उहाँले मलाई उठ्न सिकाउनुभयो । जब म सफल हुन्थें, उहाँले चुपचाप मुस्कुराएर गर्व गर्नुहुन्थ्यो आफ्नो खुसीभन्दा मेरो खुसीलाई ठूलो ठान्दै ।
आज सम्झिन्छु कति पटक उहाँले आफ्ना इच्छा त्याग्नुभयो, कति रात निदाउनुभएन, कति पीडा लुकाउनुभयो केवल मेरो मुस्कान जोगाउनका लागि । म सानो थिएँ, त्यो माया बुझ्न सकिनँ । आज जब उहाँ हुनुहुन्न, तब ती हरेक त्याग र माया सम्झिँदा मन भक्कानिन्छ । आफैँलाई प्रश्न गर्छु—किन मैले त्यतिबेला अझ बढी समय उहाँसँग बिताइनँ ? किन मैले खुलेर भन्न सकिनँ—“आमा, म तपाईंलाई धेरै माया गर्छु” ?
घर अझै उस्तै छ, उही भित्ताहरू, उही ढोका, उही आँगन । तर घरको आत्मा हराएको जस्तो लाग्छ । भान्सामा पकाइने खाना उस्तै छ, तर त्यसमा मिसिएको त्यो माया अब छैन । त्यो स्वाद, त्यो स्पर्श, त्यो अपनत्व सबै कतै हराएको जस्तो लाग्छ । जीवन अघि बढिरहेको छ, तर सहज छैन । हरेक खुसीको क्षणमा एउटा खाली ठाउँ देखिन्छ—“यदि आमा हुनुहुन्थ्यो भने…” भन्ने सोचले मन भारी बनाउँछ ।
कहिलेकाहीँ लाग्छ, काश समयलाई एकछिनका लागि भए पनि फर्काउन सकिन्थ्यो भने ! काश, म फेरि उहाँको काखमा टाउको राखेर बस्न पाउँथेँ । उहाँको हात समाएर भन्न पाउँथेँ “आमा, तपाईं मेरो संसार हुनुहुन्छ ।” तर जीवनले यस्ता अवसरहरू फर्काएर दिँदैन रहेछ । हामीले गुमाएका मानिसहरू कहिल्यै फर्केर आउँदैनन्। तर उनीहरूले छोडेर गएका माया, सम्झना र शिक्षा भने सधैं हाम्रो साथमा रहिरहन्छन् हाम्रो जीवनको मार्गदर्शक बनेर ।
आज, जब आमाको मुख हेरेर आशीर्वाद लिइरहेका छन्, म भने आँखाभरि आँसु बोकेर स्मृतिहरूको संसारमा हराइरहेको छु । मेरो लागि आजको दिन उत्सव होइन यो सम्झनाको दिन हो । त्यो माया सम्झिने दिन, त्यो अभाव महसुस गर्ने दिन, र मनमनै आमासँग संवाद गर्ने दिन ।
आमा, तपाईंलाई गुमाएको चार वर्ष भइसक्यो, तर तपाईं मेरो जीवनबाट कहिल्यै टाढा हुनुभएको छैन । तपाईंको आवाज अझै मेरो कानमा गुञ्जिन्छ, तपाईंका शब्दहरू अझै मेरो निर्णयहरूमा झल्किन्छन्, तपाईंको माया अझै मेरो हरेक सासमा बस्छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट मेरो हरेक पाइला नियालिरहनुभएको छ भन्ने विश्वासले नै म बाँचिरहेको छु ।
तपाईंले मलाई सिकाउनुभएको इमान्दारी, सहनशीलता र माया यी नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हुन् । तपाईंको ऋण म कहिल्यै तिर्न सक्दिनँ, तर तपाईंले देखाउनुभएको बाटोमा हिँड्ने प्रयास भने सधैं गरिरहनेछु ।
आमा, तपाईं मेरो जीवनको सबैभन्दा सुन्दर सत्य हुनुहुन्थ्यो, हुनुहुन्छ, र सधैं रहिरहनुहुनेछ । तपाईंको अभाव सधैं पीडादायी रहनेछ, तर तपाईंको सम्झनाले नै मलाई बाँच्ने शक्ति दिन्छ । तपाईं बिना जीवन अधुरो छ, तर तपाईंका यादहरूले त्यो अधुरोपनलाई सहने साहस दिन्छ ।
शान्ति, माया र अनन्त सम्झनासहित—
तपाईंको सन्तान।