PalikaNews
रत्नेचौर–भकुण्डे सडक निर्माण नटुंगिँदै कालोपत्रमा खाल्डा, स्थानीयको गुणस्तरमाथि प्रश्न
बेनी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पूरा नहुँदै कालोपत्र गरिएको सडकमा खाल्डा पर्न थालेपछि स्थानीयले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन् ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नम्बर २ भकुण्डे जोड्ने सडकअन्तर्गत उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै डिबिएसडी प्रविधिबाट कालोपत्र गरिएको थियो । तर कालोपत्र सम्पन्न भएको केही समयमै सडकमा खाल्डा देखिन थालेका छन् ।
बेनी नगरपालिका–२ भकुण्डेका बासिन्दा भिमबहादुर पौडेलले बिटुमिनले चिप्स राम्रोसँग नसमातेका कारण सडक खाल्डाखुल्डी भएको बताए । “पहिलो पटक कालोपत्र गर्दा दोस्रो चरणमा सुधार होला भन्ने अपेक्षा थियो,” उनले भने, “तर दोस्रो पटक कालोपत्र गरेपछि पनि अवस्था उस्तै छ ।”
शुक्रबार भकुण्डेमा बेनी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अर्जम र भकुण्डेका स्थानीयले सडक स्तरोन्नति योजना तोकिएको मापदण्ड र गुणस्तरअनुसार निर्माण नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय पूर्णबहादुर सुवेदी, भिमबहादुर रिजाल र डम्मर सापकोटालगायतले सडक निर्माणमा देखिएको कमजोरीबारे सम्बन्धित कार्यालयमा पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए ।
उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा दोस्रो चरणको कालोपत्र हालै सम्पन्न भएको छ भने बिमिराबोट–भकुण्डे–तमाने खण्डमा कालोपत्रका लागि बेस र सबबेस राख्ने तयारी भइरहेको जनाइएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने र वडा अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापरबाहीबारे अनुगमन समितिले लिखित जानकारी गराउँदासमेत बेवास्ता भएको गुनासो गरे । उनीहरूले पुनः सडक डिभिजन कार्यालय र ठेकेदारसँग समन्वय गरी बिग्रिएको सडक सुधार गराउने प्रतिबद्धता जनाए ।
नगर प्रमुख केसीले संघीय योजनाका ठूला ठेकेदारहरूले स्थानीय तहको सिफारिस आवश्यक नपर्ने योजनामा बेवास्ता गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै योजना म्यादभित्रै सुधारका लागि सहजीकरण प्रयास जारी राखिने बताए ।
सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल, घुम्ती तथा ग्रेड सुधार गरी कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित यस योजनाको आधाभन्दा बढी भाग दोस्रो चरणको कालोपत्र भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता भएको छ ।
उक्त सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीसँग २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । ३० महिनाको ठेक्का अवधि रहेको योजनाको म्याद २०८२ फागुनसम्म थप गरिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङका अनुसार आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। विसं २०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ३ तथा बागलुङ नगरपालिकाको मालिका क्षेत्रका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले सडकको तत्काल निरीक्षण गरी कमजोरी भेटिएमा ठेकेदारलाई सुधार गर्न लगाइने बताए । “म आफैँ सडकको निरीक्षण गर्छु,” उनले भने, “गुणस्तर र मापदण्डअनुसार काम नभएको पाइए सुधार गराइनेछ ।”