पुरानो ढर्रा तोड्न मधेस प्रदेशकी शिक्षामन्त्रीको चेतावनी
धनुषा । मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले परम्परागत, रटानमुखी शिक्षाले अब काम नगर्ने स्पष्ट संकेत दिँदै शिक्षालाई समयअनुकूल, सीपमूलक र प्रविधिमैत्री बनाउन ढिलाइ गर्न नहुने बताएकी छन्। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको ११७औँ वार्षिकोत्सवमा बोल्दै उनले गुणस्तरीय शिक्षा बिना समाज परिवर्तन असम्भव हुने ठोकुवा गरिन्।
उनका अनुसार विद्यालयले अब केवल प्रमाणपत्र बाँड्ने केन्द्र होइन, व्यवहारमा काम लाग्ने सीप उत्पादन गर्ने थलो बन्नुपर्छ। “अनुशासन, नैतिकता र सीप-यी तीन कुरा विद्यालयबाटै सुरु हुनुपर्छ,” उनले भनिन्।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चेतकुमार पोखरेलले पनि सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षक, अभिभावक र राज्यबीचको समन्वय कमजोर हुँदा समस्या झन् गहिरिएको औंल्याए। विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले भने उपलब्धि उल्लेख गर्दै थप सहयोग बिना गुणस्तर उकास्न कठिन हुने संकेत गरे।
सोही अवसरमा १० जना मेधावी तथा समावेशी विद्यार्थीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ। तर मुख्य प्रश्न अझै बाँकी छ-नीति र भाषणभन्दा बाहिर निस्केर शिक्षा प्रणाली साँच्चिकै परिवर्तन कहिले हुन्छरु