npl.977 Nepal News Stream

Taksar News logo Taksar News

रास्वपा वाचापत्रः क्रसर उद्योगकाे समस्या अन्त्यदेखि खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने

टक्सार न्युज 10 hours ago

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि खानी तथा खनिज क्षेत्रलाई प्राथमिकतामा राख्दै विस्तृत वाचापत्र सार्वजनिक गरेको छ।

पार्टीले खनिज, खानी उत्खनन तथा खानी उद्योगलाई दीर्घकालीन र उच्च आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा अघि सार्दै आन्तरिक खपत र निर्यात विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

सार्वजनिक वाचापत्रमा लगानीमैत्री खानी नीति तथा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

खनिज तथा खानी पदार्थ नियमावली, २०७६ लाई संशोधन गरी रोयल्टी दरको पुनरावलोकन गरिने र सरकारी–निजी साझेदारीमा आधारित लगानी मोडेल विकास गरिने उल्लेख गरिएको छ।

निर्माणमुखी सामग्रीको उत्खनन, उत्पादन, आपूर्ति र प्रयोगको समग्र नियमन तथा प्रभावकारी अनुगमनका लागि ‘खानी तथा खनिज प्राधिकरण’ स्थापना गर्ने योजना पनि वाचापत्रमा समेटिएको छ। यसअन्तर्गत ढुङ्गा, गिट्टी र बालुवाको उत्खननलाई आन्तरिक उपयोगमा मात्र सीमित नगरी कडा नियमनको दायराभित्र रही निर्यातसमेत गरिने पार्टीको भनाइ छ।

पार्टीले वातावरण विनाश, पूर्वाधारमा क्षति, कालोबजारी, भ्रष्टाचार, अनियमितता, अवैध उत्खनन तथा अव्यवस्थित क्रसर उद्योग सञ्चालन जस्ता समस्या अन्त्य गर्न नयाँ कानून तर्जुमा गर्ने जनाएको छ। वातावरणीय, इन्जिनियरिङ, आर्थिक तथा सामाजिक पक्ष समेटिएका स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य मापदण्ड लागू गरिने प्रतिबद्धता पनि वाचापत्रमा उल्लेख छ।

रास्वपाले खानी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउने लक्ष्यसहित यो नीति सार्वजनिक गरेको हो।

Read more news from Taksar News

Explore by Source or Category