सेयर बजारमा लगातार गिरावट, परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा
काठमाडौं। सेयर बजारमा लगातार गिरावट छ। नेप्से परिसूचक सोमबार १३.८८ प्रतिशतले घटेर २५८१.२१ विन्दुमा आएको छ।
कारोबारमा आएका व्यापारबाहेक सबै उपसमूह घटेका छन्, जसको असर परिसूचकसँगै कारोबार रकममा परेको छ। होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी १.२६ प्रतिशतले घटेको छ। विभिन्न कम्पनीको लाभांश घोषणा भइरहेका बेला लगानीकर्ता सेयर किनबेचको साटो ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्।
कतिपय लगानीकर्ताहरूले सेयर बजारबाट पैसा निकालेर अन्य क्षेत्र (जस्तै घरजग्गा वा अन्य व्यवसाय) मा लगाउन थालेकाले पनि सेयर बजारमा अलि सुस्तता देखिएको विश्लेषण भइरहेको छ।
बजारमा विश्लेषकहरुको अपेक्षाभन्दा कम कारोबार हुन थालेको छ। सोमबार २०० वटा कम्पनीको सेयरमूल्य घट्दा उल्लेख्य संख्यामा लगानीकर्ता नोक्सानमा परेका छन्। घटेकामध्ये मानुषी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशतले ओरालो लागेको छ।
बजारमा सेयरमूल्य बढेका ५४ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ५ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। एसवाई प्यानल नेपालको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। साताको दोस्रो दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार घटेर ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ।
कारोबार भएका कम्पनीमध्ये लुम्बिनी विकास बैंकको सबैभन्दा धेरै १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख र मञ्जुश्री फाइनान्सको ७ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
The post सेयर बजारमा लगातार गिरावट, परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा appeared first on BIZMANDU.