npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

पालिका ब्यूरो 21 hours ago

भरतपुर — भरतपुर महानगरपालिकाले महानगर क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २९ वटै वडाका मुख्य–मुख्य चोकसहित २०० भन्दा बढी स्थानमा क्यामेरा जडान गर्न थालिएको हो ।

महानगर प्रमुख रेनु दाहालले सोमबार एक समारोहबीच सिसी क्यामेरा जडान कार्यको औपचारिक शुभारम्भ गरे । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त योजना कार्यान्वयनमा ल्याइएको हो ।

महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडामा चारवटा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) सहित ४१८ वटा उच्च क्षमताका भिएमएस क्यामेरा जडान गरिनेछ । सिनर्जी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले आधुनिक सहर निर्माण अभियानअन्तर्गत सिसी क्यामेरा जडान गरिएको उल्लेख गर्दै सुरक्षित र भयरहित वातावरण निर्माण महानगरको प्राथमिकता रहेको बताए । “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना साकार हुँदैछ,” उनले भने, ।

उनले महानगर क्षेत्रमा हालसम्म २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गरिएको, ९१ वटा चोकमा हाइमास्ट लाइट राखिएको र आगामी दिनमा छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी दिए । जडान गरिने सबै क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा रहनेछ ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने गतिविधिको निगरानी गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन क्यामेरा जडान महत्वपूर्ण भएको बताए । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण र दिगो उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल टेलिकमको फाइबर नेटवर्कमार्फत सिसी क्यामेरा सञ्चालन गरिनेछ । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाका दिनसमेत मर्मत तथा प्राविधिक कामलाई निरन्तरता दिइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रण र अनुसन्धानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

Read more news from PalikaNews

Explore by Source or Category