PalikaNews
स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
काठमाडौं — आज पहिलो पटक अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइँदैछ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस यसै वर्षदेखि मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसङ्घ को महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । नेपालले अघि सारेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो ।
यस दिवसको मुख्य उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु रहेको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली अपनाउने बानी र मानिस केन्द्रित स्वास्थ्य प्रणाली विकासमार्फत जीवन रक्षा तथा स्वास्थ्य खर्च न्यूनीकरण गर्न सकिने विश्वास गरिएको छ ।
राष्ट्रसङ्घका अनुसार आदिवासी जनजाति तथा स्थानीय समुदायका परम्परागत ज्ञान र अभ्यासहरू पनि स्वास्थ्य प्रवद्र्धनमा महत्त्वपूर्ण छन् । प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र आरोग्यमा सकारात्मक योगदान पुर्याउन सक्ने उल्लेख गरिएको छ ।
यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ । यस अवसरमा विभिन्न देशमा जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन भइरहेका छन् ।
राष्ट्रसङ्घले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई जोड दिँदै यसअघि घोषणा गरिएका अन्तरराष्ट्रिय खुशी दिवस, अन्तरराष्ट्रिय योग दिवस र विश्व ध्यान दिवस जस्ता दिवसहरूले पनि समग्र आरोग्य प्रवद्र्धनमा पूरक भूमिका खेल्ने जनाएको छ ।
दिगो विकास लक्ष्यअन्तर्गत स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने लक्ष्यसहित मातृ तथा शिशु स्वास्थ्य सुधार, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन तथा स्वास्थ्य असमानता न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ ।