npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह- निर्वाचनमा ढुक्क भएर सहभागी हुनुस्

नेपालन्युज 13 hours ago

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ। सिंहदरबारमा सोमबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचनमा ढुक्क भएर सहभागी हुन आग्रह गरिन्। उनले निर्वाचनलाई सङ्कट होइन, परिवर्तन र उत्साहको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको प्रस्तुतिपछि आठजना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका नेता तथा दुईजना जेन-जी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए। छलफलमा सहभागी अधिकांशले निर्वाचन हुनुपर्ने मत व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीले संविधानअनुसार प्रतिनिधिसभाको दुई अधिवेशनबीच ६ महिनाभन्दा बढी रिक्तता हुन नहुने व्यवस्थाका कारण निर्वाचन अपरिहार्य भएको बताइन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा परिवर्तन ल्याउने माध्यम भएकाले हिंसा र विद्रोहभन्दा यही बाटोबाट हुने परिवर्तन दिगो र लोकतान्त्रिक हुने धारणा राखिन्।

यो पनि…

‘सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छ’

प्रधानमन्त्री कार्कीले २३ र २४ भदौमा हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले समाज र राष्ट्रलाई परिवर्तनको आवश्यकता महसुस गराएको बताइन्। जेन-जी र युवापुस्ताले उठाएका प्रश्नहरूको समाधान गर्ने दायित्व सबैको हो भन्दै उनले परिवर्तित समयअनुसार राजनीतिक दलबाट अझ बढी सकारात्मक भूमिका अपेक्षित रहेको धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले सरकार आलोचना सहन तयार रहेको तर त्यो सबै मुलुकको हितका लागि हुनुपर्नेमा जोड दिइन्। “सरकारमाथि जेन-जी र दल दुवैबाट आलोचना भइरहेको छ, हामी त्यो सहन तयार छौँ। राजनीतिक दल, नागरिक समाज, पत्रकार र कर्मचारी सबैलाई मुलुकको उन्नति र विकासका लागि सहयोग गर्न आग्रह गरिरहेका छौँ। त्यसैले बाँकी समयलाई प्रभावकारी रूपमा उपयोग गर्दै निरन्तर संवाद र काम भइरहेको छ। यसमा सबै लागौँ, तोकिएको समयमै निर्वाचन गरौँ‚” उनले भनिन्। -रासस

Read more news from नेपाल न्युज

Explore by Source or Category