एनसेल बिजनेस बाह्रखरी गल्फ यसै महिना
काठमाडौं (हाम्रो खेलकुद)- ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र इकोनोमिक सिम्पोजियम’ यस वर्ष काठमाडौंमा गरिने भएको छ ।
बाह्रखरी मिडियाले बिहीवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता र आर्थिक परिसंवाद वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हुने जानकारी गराएको हो ।
बाह्रखरी मिडियाले नियमित रूपमा यो प्रतियोगिता र कार्यक्रम आयोजना गर्दै आएको छ । विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, इकोनोमिक सिम्पोजियममार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्देश्यले नवौँ संस्करण आयोजना गरिएको बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए।
प्रतियोगितामा विगतमा जस्तै यस वर्ष पनि विदेशी खेलाडीको सहभागिता रहनेछ बताइएको छ। ‘नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनुहुनेछ ।’

प्रतियोगिताका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्ने बाह्रखरीले जनाएको छ । साथै, अन्य विभिन्न विधामा विजेताले विगतका वर्षमा जस्तै ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइएको छ ।
यस्तै, विश्वव्यापी रूपमा पछिल्ला दिनमा देखा परेको आर्थिक उतारचढाव, नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा इकोनोमिक सिम्पोजियममा विचार मन्थन हुने आयोजक संस्थाले जनाएको छ ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले भने, ‘ विश्वमा खेल ठूलो उघोगको रुपमा स्थापित भएको छ। पुरानो सरकारलाई बुझाउन सकिएन, नयाँ सरकारले त्यसलाई बुझेर त्यहि अनुरुप अगाडि बढाउन सक्छ भन्ने विश्वास लिएको छु। सरकारले यसलाई प्रोमोट गरिदियोस जसले पर्यटक व्यवसायलाई पनि फाइदा पुग्नेछ।
सिम्पोजियममा पनि खेलकुदको विषय समेटियोस् ।’
नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले आमन्त्रित पुरुष, महिला, ६० वर्ष माथिका सबै गरि १ सय को हाराहारीमा सहभागिता रहने बताए । होल इन वानका लागि बिवाइडी गाडी पुरस्कार पनि राखिएको जानकारी दिइयो ।
The post एनसेल बिजनेस बाह्रखरी गल्फ यसै महिना first appeared on हाम्रो खेलकुद.