उपेन्द्र महतोले कल्पनासम्म नगरेको भदौ २४, ‘रुसमा नभागेको म यहाँ आफ्नै घरबाट भाग्नुपर्यो’
सोभियत संघको विघटन ताका रुसमा बसेका उपेन्द्र महतोलाई त्यहाँको विध्वंशले त्यति असर गरेन, जति यहाँ भदौ २४ ले बिथोल्यो। रुसमा त उनी आफ्नो घरभित्र सुरक्षित थिए तर आफ्नै देशभित्र भदौ २४ मा घरबाट अकस्मात भाग्नुपर्यो। त्यस दिन एकैछिन अघि चिया पिउँदै अघिल्लो दिनबारे कुराकानी गरिरहेका उनका तीन छोराछोरी र श्रीमतीलाई लिएर अत्यासका साथ उनले पछाडिको गेटबाट घर छोडे।
आँगनमा अरु चार गाडीसँगै उनको प्रिय मर्सिडिज खडा नै थियो। गेटमा सधैं जसरी उनलाई स्वागत र बिदा गर्ने गार्डहरू अदबसाथ उभिइरहेकै थिए। तर, त्यो शानको दैनिकी नै त्यस दिन उनका लागि त्रास बोकेर आइदियो ।
न कुनै गाडी, न जाने ठाउँको ठेगाना। त्यसअघि ड्राइभरबिना घर नछोड्ने उपेन्द्र पैदलै बाहिर निस्के। साथमा रहेका छोराछोरी र श्रीमती आत्तिएर सोध्दै थिए – अब कता जाने !
निकटका साथी सम्झिए तर उनको घर जाने बाटो कताबाट होला !, उपेन्द्रले होस पाइरहेका थिएनन्। अरुबेला उनी जाने ठाउँको ठेगाना ड्राइभरलाई याद हुन्थ्यो तर त्यस दिन न उनी केही सोच्न सकिरहेका थिए न कोही सम्झाउन सक्ने नै साथमा थिए।
गेटबाहिर निस्कँदा अरुबेला आराम कुशल सोध्ने, नमस्कार गर्ने मानिसहरू उनी त्यो क्षण देखिरहेका थिएनन्। उनी त कसैले समाएर पिट्ला कि, परिवारलाई केही गर्ला कि भन्ने डरैडरमा फुटपाथमा लुखुरलुखुर हिँडिरहे। बरु आफूलाई कसैले नचिनुन्, केही प्रश्न नगरुन् भन्ने मात्र उनलाई लागिरह्यो। छोराले गुगल म्याप हेर्दै बुवालाई साथीको घरसम्म डोर्याए। त्यो क्षण र समय उनको जीवनको सबैभन्दा डर र अत्यासले भरिएको समय थियो। त्यहाँ के भइरहेको थियो उनीले बुझ्नै सकिरहेका थिएनन्।
‘सोभियत युनियनका विघटनका घटना आँखैले देखें भोगें। त्यो बेला सडकमा समस्या थिए, बाहिर समस्या थियो, व्यवसायमा समस्या थियो तर घर त त्यहाँ असाध्यै सुरक्षित मानिन्थ्यो घर पस्दा डर सबै बिर्सिने।’ तर भदौ २४ मा उनले काठमाडौंको घरमा जे भयावह दृश्य देख्नुपर्यो, जसरी बाहिरिनुपर्यो उनलाई सपना जस्तै लागिरहेको छ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा उद्यमी उपेन्द्र महतोले सुनाए, ‘कहिलेकाहीँ त मलाई घरभित्र केही भएको छैन होला, कतै केही बिग्रेको, जलेको छैन होला जस्तो लागिरहन्छ। सपना देखेको पो हो कि जस्तो भैरहन्छ।’

हुन पनि उनले कहिले पो कल्पना गरेका थिए होलान् र नेपालभित्र उनको बास जलेर यसरी खरानी हुन सक्छ !
***
सिरहाको गाउँबाट सुरु भएको उपेन्द्र महतोको यात्रा काठमाडौं हुँदै रुस र फेरि नेपालतिरै सोझियो। रुसमा व्यावसायिक सफलता पाइरहेकै बेला उनले नेपालतर्फ फर्किने निर्णय गर्दा परिवारलाई कन्भिन्स गराउन भनेका थिए- ‘हरेक मानिसको इज्जत उसको देशसँग जोडिएको हुन्छ। यहाँ जतिसुकै कमाए पनि धनाढ्यका रुपमा चिनिएपनि मेरो हरियो पासपोर्टले मेरो देशसँग मलाई जोडिरहन्छ। न म यो पासपोर्ट छोड्न सक्छु न पहिचान। त्यसैले म नेपालै फर्किन्छु। सकेको उतै गर्छु।’
उनी नेपाल मात्र फर्किएनन् विश्वभर छरिएर बसेका नेपालीहरूलाई नेपालसँग जोड्ने माध्यम बनाउन पहलकर्ता समेत बने। उनैले गैरआवासीय नेपाली संघमार्फत देशबाहिरका नेपालीहरूलाई नेपालमा लगानीको वातावरण तयार पार्न अग्रसर रहिरहे।
पढेर बुझ्नु, सुनेर बुझ्नु फरक हो तर भोगेर बुझ्नु अझ फरक। भोगेर बुझ्नका लागि उनी त्यही ठाउँमा पुगे। अनुभव गरे।
‘शायद म विदेश नगाको भए मानिसको इज्जत उसको देशसँग जोडिएको हुन्छ भनेर बुझ्ने थिइँन। जब त्यहाँ व्यवसाय गरे सफलता हात लाग्दै गयो। विदेशीहरू पनि मेरो मातहतमा काम गर्न थाले। तर अरु कुनै देश भ्रमणमा जाँदा एयरपोर्टमा मेरै मातहतका विदेशी अनुहारलाई खुलेर वेलकम गर्ने तर मेरो पासपोर्ट र मेरो अनुहार हेरेरै मलाई प्लिज वेट भनिदिने!’ नेपाल फर्किने सोच पैदा हुन उपेन्द्रलाई यस्तै किस्साहरूले काम गरिरहेका थिए।
अहिले मेरो घरमात्र जलेको होइन देशलाई नै कति क्षति पुग्यो हेरौं त! पूरै देश जलेको छ। जो यसबाट प्रत्यक्ष प्रभावित छैनन् उनीहरूले पनि सोच्नु पर्दैन कि हामी सुरक्षित छौं। देशले अबको ५-६ महिनामा कुनै सकारात्मक दिशा लिएन भने यसले अझै विकराल रुप लिन सक्छ।

त्यो बेला उनीसँग विदेशी नागरिकता लिने उपाय नभएको होइन। तर उनलाई नेपाली नागरिकता छोड्न मनै लागेन।
विदेशी नागरिकता लिएपनि उनलाई ’ओरिजिनल्ली फ्रम ह्वेर?’ भन्ने एक प्रश्नले त सधैं खेदिरहनेवाला थियो, जुन उनले चाहेनन्। फेरि उनले सोचे – ‘विश्वमा यस्तो कुन देश छ जुन पूरै विदेशी लगानीले बनेको होला?’
अब उनी पक्का भए नेपाल फर्किने अनि यतै लगानी गर्ने।
‘मलाई विदेशमा अवसर प्रसस्तै थियो। तर मैले देशमा सम्भावनाका ढोकाहरू खोल्न सके विदेशी साथीहरूलाई पनि तान्न सकिन्छ अनि सामूहिक रुपमा मजस्ता धेरै नेपालीहरूले देशमा लगानी गर्न थाले भने त नेपाल बन्छ अनि नेपालसँगै जोडिएको आफ्नो परिचयमाथि गर्व हुने काम गर्न सकिन्छ भन्ने सोचेर नै म फर्किएँ,’ उपेन्द्रले पहिले नेपाल आएर लगानी गरे। अनि विदेशमा रहेका अरु नेपालीहरूलाई पनि नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास दिलाउँदै सन् २००३ देखि गैरआवासीय नेपाली अभियान सुरु गरेका थिए।
वास्तवमा यही अभियानपछि विदेशिएका धेरै नेपालीहरूले नेपालमा लगानी गर्ने तर्फ सकारात्मक पहल हुन सक्यो।
***
उपेन्द्रले जीवनमा अनेकौं दु:ख सुख देखेका छन्। धनसम्पत्ति बिरासतमा पाएका होइनन्, उनी त ‘सेल्फ मेड’ हुन्। उपेन्द्र सिरहाको एक गाउँबाट उठेका यस्ता युवा हुन् जसले गरिबी, अभाव र समस्याहरूसँग सानैदेखि जुध्न सिके। आफ्नै बलबुताले पढेर इन्जिनियर बने। विद्यावारिधिको उपाधि लिए। व्यावसायिक सफलतासँगै धनाढ्यको रुपमा स्थापित हुन सके।
सानातिना दुःखले नअत्याउने उपेन्द्रलाई भदौ २४ ले भने नराम्ररी झस्कायो। डर र ह्युमिलिएसनको पहिलो पटक अनुभव गरे त्यो पनि आफ्नै मातृभूमीमा आफ्नै घरभित्र।
रुसमा काम गर्दा गर्दै उपेन्द्र एकदिन सबै चटक्क छोडेर आएँ र नेपालमा नै अबको समय बिताउँछु भने। यो घर ‘यज्ञालय’ किन्दाताका उनी रुसमै थिए। सन् २००५ मा नेपाल आएको बखत श्रीमतीले नक्सालमा १५० वर्ष पुरानो घरसहित १८ रोपनीको प्लट बिक्रीमा रहेको सुनाइन्।
रुसको कमाइले पहिलो घर भैंसेपाटीमा जोडिसकेका उपेन्द्रलाई नक्सालको त्यो प्रोपर्टी किन्ने उस्तो रुचि थिएन। तर पुराना रुखैरुखले भरिएको बगैंचाले उनलाई सिरहाको बस्ती सम्झायो, जहाँका आँपका गाछीहरूमा चढेर उनले बचपन बिताएका थिए। १५० वर्ष पुरानो घर भत्काइदिएर परिवारको ‘कम्फर्ट’ अनुसारको मोर्डन आर्किटेक्टको बंगला बनाउने सोचका साथ उनले रुसबाटै एक आर्किटेक्टलाई नेपाल पठाए।
जब रुसी आर्किटेक्टले यहाँ आएर हेरे त्यसपछि उनले सिधै फोन गरेर उपेन्द्रलाई थर्काएछन्, ‘विदेशमा यस्तो घर भत्कायो भने क्रिमिनल केस लाग्छ, जेल जानुपर्छ। यो त हेरिटेज रहेछ। यसलाई जगेर्ना गर्नुपर्छ।’ ती रुसी आर्किटेक्ट यहाँ ६ महिना बसे, अनि पुरानो भवनलाई जतन गर्दै हेरिटेज, अनि उपेन्द्रको परिवारको बासस्थानको आकार दिए।
उपेन्द्र अब कुनै पनि कालीगढले यो घरको पुरानो अवस्था फर्काउन सक्ने देख्दैनन्।

यो घरको जगदेखि नै मर्मत गर्दै यसलाई वास्तुकला र एन्टिक सामाग्रीहरूको संग्रहालय जस्तै बनाइएको थियो। उनी जुन देश पुग्थे, त्यहाँबाट प्राचीन कलाकृति र सामाग्रीहरू ल्याउने गर्थे। बेलायतबाट ल्याएको १५० वर्ष पुरानो घडी, भागवत गीताको दुर्लभ संग्रह, बेलायत, रुस, अफ्रिका, टर्कीलगायत विश्वका अनेकौं देशबाट ल्याइएका सामानहरू यस घरमा संगृहित थिए। टायलदेखि झुमरसम्म उनीहरू आफैं विभिन्न देश पुगेरै छनोट गरी ल्याउने गर्थे। सोफादेखि झुमरसम्म, कार्पेटदेखि भित्ताहरूमा राखिएका कलाकृतिसम्मका लागि उनीहरूले करोडौं खर्चेका थिए।
अध्यात्ममा रुचि राख्ने उपेन्द्रले छोरा यज्ञको नाममा यस घरको नाम जुराए यज्ञालय।
रुसी टेलिभिजनमा प्रसारण भएको एक डकुमेन्ट्रीपछि त नेपालको यो घरको ख्याति अन्तर्राष्ट्रियस्तरमा पुग्यो। यो घरभित्र एन्टिक सामाग्री, दुर्लभ कलाकृति र इतिहासमात्र संगृहित थिएनन्, उनको व्यक्तिगत कलेक्सनका लिमिटेड एडिसनका घडी तथा जवाहरातहरू थिए। आज न घरभित्र ती सामाग्री छन् न घर नै बस्न लायक छ।
यहाँको सम्पदा र वास्तुकला जोगाउन उनीहरूले इटली, फ्रान्स, साउथ अफ्रिकाबाट कालीगढ नै ल्याएर काम गराएका थिए। प्राचीन सामाग्री जोगाएर बुट्टाहरू कोरिएका थिए। धेरै वर्षको अथक लगानी र प्रयासले यो घरले आगजनी हुनु अघिको स्वरुप लिएको थियो।
‘मेरो घर मेरो मात्र थिएन यो नेपालको सम्पत्ति पनि हो। यसलाई बचाएर राख्ने कर्तव्य मेरो मात्र होइन नेपालीको पनि थियो। म यहाँ आउने जाने गरिरहन्छु। एकदिन यहाँबाट सधैंका लागि जाने हो। तर, यो धरोहर नेपाल र नेपालीको हुने हो नि। यहाँ चिजहरू जोगिएको भए त देशको शान हुन्थ्यो नि!’
उपेन्द्र अब कुनै पनि कालीगढले यो घरको पुरानो अवस्था फर्काउन सक्ने देख्दैनन्।



दुर्लभ सामाग्री राखिएको घरभित्रको सेफ फुटाएर आँगनमा फालिएको छ। पार्क गरिराखिएका गाडीहरूको भग्नावशेष मात्र बाँकी छ। उपेन्द्रको अनुमानमा यस घरमा संरचना बाहेक नै १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। मानसिक र संवेदनात्मक क्षतिको त हिसाबै छैन।
उनी अझै पनि भयबाट बाहिर निस्कन सकेका छैनन्। आश्वस्त हुन सकिरहेका छैनन्। उनी भन्छन्, ‘अहिले मेरो घरमात्र जलेको होइन देशलाई नै कति क्षति पुग्यो हेरौं त! पूरै देश जलेको छ। जो यसबाट प्रत्यक्ष प्रभावित छैनन् उनीहरूले पनि सोच्नु पर्दैन कि हामी सुरक्षित छौं। देशले अबको ५-६ महिनामा कुनै सकारात्मक दिशा लिएन भने यसले अझै विकराल रुप लिन सक्छ।’
***
उपेन्द्र सात कक्षामा पढ्दै गर्दा स्कुलमा विद्यार्थीहरूले आन्दोलन र हडताल गरेका थिए। त्यो बेला उनी पनि इन्क्लाब जिन्दाबाद भन्दै साढे तीन किलोमीटर परको प्रहरी चौकीसम्म पुगेका थिए।
जब आन्दोलन चर्कियो र हवाई फायर हुन थाल्यो उपेन्द्र र उनका साथीहरू दौडिएर घर आए। जब स्कुल पढ्न गएको छोरा आन्दोलनमा गएको उनकी आमाले थाहा पाइन् उनले छोरालाई सोधिन्, ‘यति सानो मान्छे तिमी त पढ्ने उमेरको बाबु गोली लाको भए तिमी मर्थ्यौं। भन त तिमी के उम्मिदले त्यो आन्दोलनमा गएको?’
शहीदको अर्थ नै बुझ्ने उमेरमा नपुगेका उपेन्द्रले आमालाई भनेका थिए, ‘यदि म गोली लागेको भए शहीद हुन्थें।’
उपेन्द्र भदौ २३ र २४ लाई फरक रुपमा हेर्छन्। २३ मा आक्रोश र असन्तुष्टिले निम्त्याएको प्रदर्शन र २४ लाई विशुद्ध लुटपाटको घटना भनेर उनले छुट्याएका छन्।

त्यो बेला शहीदको अर्थ नबुझेपनि उपेन्द्रले त्यसको भाव बुझिसकेका थिए। शहीदको अर्थ थाहा नभए पनि शहीद भनेको देशको लागि मर्ने व्यक्ति हुन् भनेर श्रद्धाका साथ हेर्न सक्ने बनिसकेका थिए। त्यसैले त शहीद हुनुलाई उनी गौरव ठान्थे।
भदौ २३ को आन्दोलनमा शहीद हुनेहरूप्रति उनलाई अगाध श्रद्धा छ। तर कतिले कहिलेसम्म देशका लागि शहीद भैरहनुपर्ने? उनी प्रश्न गर्छन्।
‘शहीद बारम्बार त भैरहनुपर्दैन। देश शान्त र समृद्ध बनाउन सकियो भने शहीदको सपना पूरा हुन्छ। यो बाटोतर्फको यात्रामा सबै मिलेर लाग्यौं भने देशका लागि बारम्बार शहीद भैरहनै पर्दैन,’ २७ वर्षकी जेठी छोरी देखि २० वर्षको कान्छो छोरासम्मलाई सम्झिँदै उपेन्द्र भन्छन्, ‘वास्तविक जेनजी पुस्ताले भरिएको मेरो घरमात्र होइन देश बनाउने पनि यही पुस्ताले हो।’
उपेन्द्र भदौ २३ र २४ लाई फरक रुपमा हेर्छन्। २३ मा आक्रोश र असन्तुष्टिले निम्त्याएको प्रदर्शन र २४ लाई विशुद्ध लुटपाटको घटना भनेर उनले छुट्याएका छन्।
‘हामीले घर छोडेपछि लगातार तीन घण्टा लुटपाट भएछ। मेन सीसीटीभी फुटाए पनि हामीले अन्यतिर राखिएका सबै क्यामेराहरूबाट भिडियो हेरेपछि म प्रष्ट रुपमा भन्न सक्छु २४ मा जेनजी एउटा पनि थिएनन्। यो वेल अर्गनाइज्ड ग्रुपको काम हो। सबै लुटेरा थिए सबै लुट्न आएका थिए। लुटेरै गएका हुन्। पछि प्रमाण नष्ट गर्न आगो लगाएका हुन्,’ उनले ठोकुवा गरे।
टुटेको मनलाई उनले यज्ञालयका टुक्रिएको शिशाहरूलाई जसरी नै समेटिसके। आफूलाई काममा उसैगरी तल्लीन पनि बनाइसकेका छन्। तर यो घरलाई के गर्ने उनले अझै सोचेका छैनन्।

उनका अनुसार नेताको नाम जोडिदिएपछि भिड उत्तेजित हुन्छ भनेर त्यहाँ उभिएका केही व्यक्तिले यो उपेन्द्र यादवको घर हो भन्दै भिडलाई भित्र जान उक्साइएको थियो।
उपेन्द्र भन्छन्, ‘देशको भविष्य जोगाउनु छ भने २३ गते किन प्रदर्शन भयो त्यसलाई मनन गरौं र २४ गते लाई दण्डनीय गरौं। यदि २४ गतेको घटनामा संलग्नलाई दण्डनीय नगर्ने हो भने देशको भविष्य लामो समयसम्म अँध्यारोमा रहिरहन्छ।’
***
५ कक्षासम्म मस्को, ६ देखि १० भारत र ११-१२ स्विट्जरल्याण्ड, अनि त्यसपछि कोही मस्को र अमेरिका पढेका उपेन्द्रका तीनै सन्तानले विदेशमा धेरै सहज जीवन बाँचेका थिए। तर देश फर्किएका बुवाले कन्भिन्स गराएकै कारण उनीहरू पनि नेपालमा थिए।
तर, भदौ २४ पछि उपेन्द्रका छोराछोरी उनलाई साथ दिन यहीँ रहन चाहन्छन्/चाहँदैनन् उनलाई यतिखेर यही प्रश्नले सताइरहेको छ। आफू सारा संसार छोडेर यहीँ बस्न आइपुगेको मानिसलाई जति जति प्रौढ हुँदै गयो उति नै बालबच्चाको साथ र ऊर्जाको आवश्यकता महसुस हुने गर्छ। तर उपेन्द्रलाई २४ को त्रास बोकेका सन्तानको प्रश्नले भित्रैबाट कमजोर बनाइदिएको छ।
विदेशबाट फर्काएर नेपालमा काम गर्न कन्भिन्स गराइरहे पनि भोगेको २४ र त्यसदिन गुमाएको बासका साक्षी तीन सन्तानहरूले बुवाको आश्वासनमाथि कसरी विश्वास गर्न सक्लान्?- उपेन्द्रको मनमा यही खेलिरहेको छ।
उनी प्रणालीगत भ्रष्टाचारले नेपालमा जरो गाड्नुले नै साधारण मानिसको धैर्यको बाँध टुटेको विश्लेषण गर्छन्।



‘जो मेरै घरभित्र पसेर लुटिरहेछ, उही भनिरहेछ मलाई केही हुन्न, देशै हाम्रो भैसक्यो। यस्तो अवस्थामा को यहाँ बस्ने, कसले यहाँ लगानी गर्ने?’- उनी चिन्ता व्यक्त गर्छन्।
‘सानो सानो कामका लागि १५-२० दिन लाग्ने। सरकारी प्रणाली चुस्त हुन सकेन। एउटा टेबुलबाट अर्को टेबुलमा फाइल सर्न महिनौं लाग्ने हुन थाल्यो। पैसा दिनुपर्ने अनि पैसा दिएर पनि फाइल अघि नबढ्ने। यही फाइल रोक्ने प्रवृत्तिले नै हो नेपालको विकास पनि रोकिएको। यसैले चुलिएको थियो मानिसको असन्तुष्टि अनि मानिसमा आक्रोश आउन्न? यही असन्तुष्टिले २३ जन्मियो, अनि २४ चैं माहोलको फाइदा उठाउन पर्खेर बसेका लुटेराहरूले निम्त्याए,’ उनले पटक-पटक दोहोर्याए।
फस्ने फसाउने खेलले जसलाई पनि चोर, कालो र भ्रष्टाचारी मात्र देख्छौं। त्यसैले यस्ता खेलहरू छोडेर सकारात्मक बाटोतर्फ लाग्न र नयाँ पुस्तालाई समृद्धिको साझेदार बनाउन उनी आग्रह गर्छन्।
‘नेताहरू कामले होइन बोलीले नै नेपाललाई सिंगापुर बनाइसक्छन्। हामीले त कामले देखाउने हो। मैले जब २००४ मा नेपालमा मेरो मोबाइल सुरु गरें त्यो पछि धेरैले भने ब्ल्याक मनीलाई ह्वाइट बनाउन आयो भने। तर मैले हाँसेरै उडाएँ। कामबाट पो हो मैले देखाउने। मेरो मोबाइल आएपछि नेपालीको जीवनशैली र संचारको गुणस्तर नै बदलिएको जस्तो भयो। आइटीमा निर्भर हुन थाल्यो धेरै कुराहरू। भाइब्रेन्ट भएजस्तो भयो। बिजनेसमा बिस्तारै सिफ्ट हुन्छ। सधैं एउटै सेक्टरमा मात्रै लागिरहन्छ भन्ने पनि होइन मैले त्यो बेचें। अरु अरु सेक्टरमा थाले,’ मेडिसिटी अस्पतालमा संलग्न उपेन्द्रले भने, ‘अब म नेपाललाई इन्टरनेशनल मेडिकल हब बनाउने सोचका साथ काम गरिरहेको छु।’
नकारात्मक माहोलले देशलाई चौतर्फी बिगारेको हो भन्ने उपेन्द्रलाई लागेको छ। ‘मानिसहरूमा धनीलाई देख्दा इर्ष्याभाव पैदा हुँदो रहेछ। धनी बन्न सबै चाहन्छन् तर इर्ष्याको भावले त अघि बढ्दैन। सम्पत्ति हुनुमा गर्वभन्दा तर्सिनुपर्ने अवस्था आयो भने त कसरी समृद्धि सम्भव हुन्छ?,’ उनी प्रश्न गर्छन्।

‘मट्टितेलले दीपक पनि जल्छ कसैको घर पनि जल्छ। के मा प्रयोग गर्ने व्यक्तिमा निर्भर हुन्छ। धनी-गरिब बीचको इर्ष्या बढाउने खेल पछिल्लो डेढ-दुई वर्ष अघिदेखिको हो। यसका लागि राजनीतिज्ञहरूको सिन्डिकेट र माहोलले काम गर्यो। केही व्यक्ति कुर्सीमा आउने उनीहरूबीचको खिचातानी र सिन्डिकेटको अवस्थाले देश भ्रष्टहरूको हातमा पुगेको बुझिन्थ्यो। तराजुको तौलमा पैसा तौलिएर पदहरू बाँडिन्थ्यो भन्ने भाष्यले मानिसहरूमा असन्तुष्टिको माहोल सिर्जना भयो।’
उपेन्द्र अबको ६ महिनामा देशले लिने बाटोले नै नेपालको अबको भविष्य तय गर्ने बताउँछन्।
उपेन्द्रको घरको सेफ तोड्ने बेला एउटाले भनेछ, ‘ओई अब मास्क लगा। पछि अप्ठेरो पर्न सक्छ।’
सेफ तोड्नेले जवाफ दिएछ, ‘अब देशै हाम्रो भैसक्यो के अप्ठेरो पर्छ।’
यही एक संवादभित्र उपेन्द्र आज देशको अवस्था र मान्छेको प्रवृत्ति बुझ्न खोजिरहेछन्।
‘जो मेरै घरभित्र पसेर लुटिरहेछ, उही भनिरहेछ मलाई केही हुन्न, देशै हाम्रो भैसक्यो। यस्तो अवस्थामा को यहाँ बस्ने, कसले यहाँ लगानी गर्ने?’ उनी चिन्ता व्यक्त गर्छन्।
भदौ २४ पछि उपेन्द्रका छोराछोरी उनलाई साथ दिन यहीँ रहन चाहन्छन्/चाहँदैनन् उनलाई यतिखेर यही प्रश्नले सताइरहेको छ।

टुटेको मनलाई उनले यज्ञालयका टुक्रिएको शिशाहरूलाई जसरी नै समेटिसके। आफूलाई काममा उसैगरी तल्लीन पनि बनाइसकेका छन्। तर यो घरलाई के गर्ने उनले अझै सोचेका छैनन्।
एक मन लाग्छ म्युजियम बनाउँ। अर्को मनले भन्छ विध्वंशको प्रतिकका रुपमा देश समृद्ध नभएसम्म यसलाई यत्तिकै छोडिदिउँ!
कुराकानी बिट मार्दै उनले भाका राखे, ‘अब ६ महिना कुरौं। देश कुन बाटोमा अघि बढ्छ त्यही अनुसार नै म निर्णय गर्नेछु।’
घाम र छायाका बीच हामीले धेरैबेर जलेको यो घरसँग जोडेर देशको चिन्ता गर्यौँ। पात्र र प्रवृत्तिबारे चिन्तन गर्यौँ। साँझ पर्दै जाँदा यज्ञालयको कम्पाउन्डका ठूला ठूला रुखहरूमा कल्याङमल्याङ सुरु भैसकेको थियो। चराहरू बास बस्न गुँड फर्किइरहेका थिए। उपेन्द्र भने यहाँबाट चुपचाप बाहिरिए।
The post उपेन्द्र महतोले कल्पनासम्म नगरेको भदौ २४, ‘रुसमा नभागेको म यहाँ आफ्नै घरबाट भाग्नुपर्यो’ appeared first on BIZMANDU.