Pokhara News
पोखरामा मापसे गरी स्कुल बस चलाउने थप ५ चालक नियन्त्रणमा
पोखरा, ५ फागुन । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जनगुनासो आएपछि कास्की प्रहरीले थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।
आज बिहान पोखराका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाई र ट्राफिक प्रहरीको संयुक्त टोलीले स्कुल बस चालकहरूलाई जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चालकहरूमा श्री रत्न ज्योति बोर्डिङ स्कुलको ग १ क ५९६२ नम्बरको बस चालक पर्वत घर भई हाल पोखरा –८ बस्ने ४२ वर्षीय गोबिन्द क्षेत्री, KEF सेकेन्डरी स्कुलको ग १ क ४७६३ नम्बरको बस चालक पोखरा –१६ बाटुलेचौर बस्ने ४५ वर्षीय सर्वजित रेग्मी रहेका छन्।
यसै गरी श्री गुरुकुल विद्यासदन बोर्डिङ स्कुलको ग १ क १९५७ नम्बरको बस चालक पर्वत घर भई हाल पोखरा –९ बस्ने ४७ वर्षीय दलबहादुर सुनार, श्री इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नम्बरको बस चालक चितवन रत्ननगर घर भई हाल पोखरा –९ नयाँ बजार बस्ने ४७ वर्षीय मनबहादुर तामाङ तथा श्री गण्डकी बोर्डिङ स्कुलको ग १ क ६६२३ नम्बरको बस चालक म्याग्दी घर भई हाल पोखरा –१९ लामाचौर बस्ने ३० वर्षीय रोनिश खनाल रहेका छन्।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस अघि कास्की प्रहरीले हिजो मात्र पोखरामा मापसे गरी बस चलाउने ५ बोर्डिङ स्कुलका चालक नियन्त्रणमा लिएको थियो ।
The post पोखरामा मापसे गरी स्कुल बस चलाउने थप ५ चालक नियन्त्रणमा appeared first on Pokhara News.