PalikaNews
राजस्व चुहावट नियन्त्रण अभियानमा रामप्रसादराई गाउँपालिका
भोजपुर – रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । उनका अनुसार गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकतामा राखिएको छ ।
“जनतालाई दिने सेवासुविधा सहज बनाउँदै गाउँपालिकाको आन्तरिक स्रोत बलियो बनाउने अभियानमा जुटेका छौँ,” अध्यक्ष राईले भने, “आन्तरिक स्रोत मजबुत भएमा मात्र स्थानीय सरकार आत्मनिर्भर र सक्षम बन्न सक्छ ।”
गाउँपालिकामा वनजन्य स्रोत, ढुङ्गा, गिट्टी, बालुवा, सवारी तथा ढुवानी साधन, स्थानीय बजार र व्यवसायबाट हुने आम्दानीलाई व्यवस्थित गर्न अनुगमन कडाइ गरिएको उनले स्पष्ट पारे । राजस्व चुहावट हुने सम्भावित क्षेत्र पहिचान गरी अनुगमन बढाइने र नियमविपरीतका गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने जनाइएको छ ।
आन्तरिक आम्दानी बढाउने उद्देश्यले पूर्वाधार करअन्तर्गत विभिन्न सवारीसाधन तथा ढुवानीमा करका दर निर्धारण गरिएको छ । गाउँपालिकाका अनुसार दशचक्के ट्रकलाई एकपटकको ढुवानीमा रु १ हजार ५००, छचक्के सवारीलाई रु १ हजार, मसला तथा फलफूल ढुवानीमा रु ४००, ठूला बसलाई वार्षिक रु ३ हजार, ट्याक्सीलाई वार्षिक रु १ हजार ५०० र बाहिरबाट आउने ठूला ट्रकलाई एकपटकको रु ३ हजार कर तोकिएको छ । यी निर्णय राजस्व समिति र स्थानीय प्रहरी प्रशासनको संयुक्त बैठकबाट गरिएको हो ।
यसैक्रममा गाउँपालिकाले राजस्व चुहावट नियन्त्रणसँगै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषयमा स्थानीय प्रहरी प्रशासनसँग समन्वय बढाएको छ । अनुगमन प्रभावकारी बनाउने, अवैध कारोबार नियन्त्रण गर्ने र राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा सहमति भएको गाउँपालिकाले जनाएको छ ।
आगामी दिनमा कर प्रणालीलाई प्रविधिमैत्री बनाउने, करदातालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी विकास निर्माणका कामलाई थप गति दिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।