npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

हुण्डी कारोबारबाट बच्न अष्ट्रेलियाका नेपालीलाई आग्रह

Saral Patrika 1 day ago

काठमाडौं । अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूलाई अनौपचारिक माध्यम (हुण्डी) बाट रकम ओसारपसार नगर्न नेपाली राजदूतावास क्यानबेराले आग्रह गरेको छ । दूतावासले सोमबार सूचना जारी गर्दै हुण्डी कारोबार असुरक्षित, गैरकानूनी र राष्ट्रहित विपरीत हुने स्पष्ट पारेको हो ।

सूचनामा हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको विवरण संकलन गर्ने कार्य भइरहेको उल्लेख छ । ‘विदेशमा रही अनौपचारिक माध्यमबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी आवश्यक कारबाहीका लागि एकीकृत अभिलेखीकरण गर्ने काम सम्बन्धित निकायले गरिरहेको छ’ सूचनामा भनिएको छ ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल प्रयोग गरी हुने विप्रेषण रोक्नु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रहेको समेत दूतावासले स्पष्ट पारेको छ ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्यासिफिक क्षेत्रमा रहेका नेपाली व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट ल्याउँदा अनिवार्य रूपमा बैंकिङ च्यानलको मात्र प्रयोग गर्न राजदूतावासले अनुरोध गरेको छ । नियम विपरीत काम गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सरकार कडा रूपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

दूतावासले कुनै व्यक्ति वा संस्थाले हुण्डी कारोबार गरेको थाहा पाएमा त्यसको जानकारी इमेलमार्फत गराउन समेत आह्वान गरेको छ । सूचना उपलब्ध गराउने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने दूतावासले जनाएको छ । देशको अर्थतन्त्रमा असर पार्ने र व्यक्तिको मिहिनेतको कमाइ समेत जोखिममा पर्ने भएकोले वैधानिक बाटोबाट मात्र रेमिट्यान्स पठाउन नेपाली समुदायलाई आग्रह गरिएको हो ।

Read more news from Saral patrika

Explore by Source or Category