npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

घरजग्गा बजारमा पुनः चहलपहल, यो वर्षको चौथो त्रैमाससम्म कारोबार र लगानी दुबैमा उल्लेख्य वृद्धि

पालिका ब्यूरो 3 days ago

काठमाडौं – पछिल्लो समय शिथिल बनेको नेपालको घरजग्गा बजारमा पुनः उत्साहजनक सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको ‘नेपालको घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा कारोबार संख्या र लगानी दुवैमा उल्लेख्य वृद्धि भएको छ ।

प्रतिवेदनअनुसार उक्त अवधिमा कुल ४ लाख ५६ हजार लिखत पारित भएका छन्, जुन पछिल्ला तीन आर्थिक वर्षकै उच्च हो। यसले घरजग्गा बजार बिस्तारै पुरानै लयमा फर्कन थालेको संकेत गरेको छ।

कारोबार संख्यासँगै लगानी रकम पनि उल्लेख्य रूपमा बढेको छ। चौथो त्रैमासमा मात्रै १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको तुलनामा दोब्बरभन्दा बढी हो।

क्षेत्रगत रूपमा हेर्दा कारोबार संख्याका आधारमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ भने कारोबार रकमका आधारमा वाग्मती प्रदेश अगाडि देखिएको छ। वाग्मतीमा मात्रै चौथो त्रैमासमा ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। महानगरपालिकामध्ये भरतपुर मा सबैभन्दा बढी संख्यामा कारोबार भएको छ भने काठमाडौं मा सबैभन्दा बढी मूल्यको कारोबार हुने गरेको छ।

बजारमा विशेषगरी २.५ आनादेखि १० आनासम्मका साना प्लटहरूको कारोबार बढी हुने गरेको छ, जसले सहरीकरणको बढ्दो चापलाई प्रतिबिम्बित गर्छ। मधेस प्रदेशमा २० आना भन्दा माथिका ठूला जग्गाको कारोबार बढी देखिँदा महानगर तथा उपमहानगर क्षेत्रमा भने ५ देखि १० आनासम्मका जग्गाको माग उच्च रहेको छ।

यससँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने घरजग्गा कर्जा पनि बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ।

सरकारी राजस्वमा पनि सुधार देखिएको छ। घरजग्गा क्षेत्रबाट प्राप्त राजस्व आर्थिक वर्ष २०७९/८० मा घटेर ८.२ अर्ब रुपैयाँमा झरेकोमा पछिल्लो अवधिमा बढेर २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार मौसमी प्रभावका कारण पहिलो त्रैमासमा बजार केही सुस्त रहने भए पनि तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ्ने प्रवृत्ति देखिएको छ। पछिल्लो तथ्यांकले घरजग्गा क्षेत्र पुनः सक्रिय बन्दै गएको संकेत गर्दै व्यवसायी र सर्वसाधारणमा सकारात्मक आशा जगाएको छ।

Read more news from PalikaNews

Explore by Source or Category