npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

बूढीगण्डकी आयोजना अगाडि बढाउन सभामुखको अधिक चासो, चार मन्त्रीको उपस्थितिमा छलफल

Basudev Timalsina 4 hours ago

काठमाडौं। सभामुख डीपी अर्यालले १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन अधिक चासो देखाएका छन्।

आयोजनाको विषयमा उनले शुक्रबार चार मन्त्रीको उपस्थितिमा छलफल गराएका छन्।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एन्जिला गुरुङको उपस्थितिमा छलफल गराएका हुन्।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि उपस्थित थिए।

छलफलमा बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए।

सभामुख अर्यालले आवश्यक कानुन बनाएर आयोजना फास्ट ट्र्याकमा बनाउनुपर्ने बताए। ‘आयोजना बनाउनुको विकल्प छैन। कि त सरकारले आयोजना बन्न नसक्ने कारण स्पष्ट पार्नुपर्छ, अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन,’ उनले भने।

उनले यसअघि सभामुख निर्वाचित भएलगत्तै ऊर्जामन्त्री र कम्पनीका सीइओ रजौरियालाई आफ्नै कार्यकक्षमा बोलाएर आयोजना अगाडि बढाउने विषयमा छलफल गरेका थिए।

The post बूढीगण्डकी आयोजना अगाडि बढाउन सभामुखको अधिक चासो, चार मन्त्रीको उपस्थितिमा छलफल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category