npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

एमआरपी कार्यान्वयन : वाणिज्य विभागले कारबाही गर्नुअघि सुधार गर्ने मौका दिने

Sarala Subedi 6 hours ago

काठमाडौं। वाणिज्य विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न उद्योगदेखि डिपार्टमेन्टल स्टोरहरूमा अनुगमन तीव्र बनाएको छ। सरकारको १०० बुँदे कार्यसूचीमा एमआरपी कार्यान्यन गर्ने समेटिएपछि विभागले अनुगमन तीव्र बनाएको हो।

नयाँ सरकार आउनुअघि विभागले एमआरपीलाई त्यति प्राथमिक्ता दिएको थिएन। अहिले भने विभागले यसलाई पूर्ण रुपमा लागू गर्न सक्रियता बढाएको छ।

केही दिन यता अनुगमन टोली बढाएर एमआरपीलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको विभागका निर्देशक नरहरि तिवारीले बताए। विभागले यतिबेला उद्योग र ठूला डिपार्टमेन्टल स्टोरहरूमा अनुगमन गरिरहेको छ। धेरै पसलहरू भएका ठाउँमा अनुगमन तीव्र बनाएको छ।

‘एमआरपी लागू एकैपटक गर्न गाह्रो हुन्छ। पहिले सबैलाई बुझाउनु पर्‍यो। सिधै गएर एमआरपी लागू भएन भनेर कारबाही गर्न भएन,’ उनले भने, ‘पहिले यसबारे बुझाउने समय दिने त्यसपछि मात्र कार्यान्वयन नभए कारबाही गर्ने हो।’

हाल विभागको ५ टोलीले अनुगमन गरिरहेको छ। दैनिक ५५ वटाभन्दा बढी व्यावसायिक फर्ममा अनुमगन गरी सामान्य निर्देशन दिने गरिएको छ।

बुधबार विभागले न्यूरोडको रंजना गल्लीमा ५६ वटा पसलहरूमा अनुगमन गरी सामान्य निर्देशन दिएर आएको छ। अनुगमन टोलीले खुद्रा तथा थोक पसलहरूमा सामानमा लेबल भए/नभएको, एमआरपी राखिएको छ/छैन भनेर निरीक्षण गरेको छ।

विभागले भाटभटेनी लगायत मार्ट, होटल तथा रेष्टुरेन्ट, फार्मेसी, खाद्यान, कपडा लगायत सबैमा एमआरपी लागू गर्न निर्देशन दिइरहेको छ।

साथै, आयात भएका वस्तुमा एमआरपी लागू गर्ने बारेमा भन्सार र आयात कर्ताबीच छलफल गरिरहेको निर्देशक तिवारीले बताए।

‘भन्सारले पनि एमआरपी लागू गर्न सहमत जनाएको छ। तर, आयात भएको वस्तुहरू भन्सारमै एमआरपी लगाएर ल्याउने की गोदाममा ल्याएर लगाउने भन्ने अन्योल बढेको छ,’ उनले भने।

भन्सारमा सामान राख्नका लागि ठाउँ पर्याप्त नहुने भएकोले कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको निर्देशक तिवारीले जानकारी दिए।

विभागले चालु आर्थिक वर्षमा करिब ४ हजार बजार अनुगमन गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये हालसम्म करिब ३१०० बजार अनुमगन भइसकेको छ। बाँकी लक्ष्य पूरा गर्न पहिलेभन्दा बढी टोली खटाएर अनुमगन गरिरहेको विभागले जनाएको छ।

The post एमआरपी कार्यान्वयन : वाणिज्य विभागले कारबाही गर्नुअघि सुधार गर्ने मौका दिने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category