npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपालमा लगानी आकर्षित गर्न डा. लोहनीले देखेका ६ अवरोध, सरकारलाई दिए यस्तो सुझाव

Basudev Timalsina 13 hours ago

काठमाडौं। नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले नेपालमा लगानीका लागि विभिन्न ६ वटा अवरोध देखाएका छन्।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३१औं वार्षिक साधारण सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै लोहनीले अनिश्चित संक्रमणकाल, नियामक संरचनाको विखण्डन, धेरै सरकारी निकायको संलग्नता, स्थानीय तहबीचको दोहोरोपन, स्पष्ट उत्तरदायित्वको अभाव र सम्झौता कार्यान्वयनको कमजोरीलाई प्रमुख अवरोधको रुपमा औंल्याएका हुन्।

‘नेपालमा भारतीय लगानी विस्तारका लागि प्रणालीगत सुधार’ विषयमा कि नोट स्पिच दिने क्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष समेत रहेका डा. लोहनीले सरकारलाई ढोकामा बसेर लगानी रोक्ने द्वारपालको साटो साझेदारका रूपमा काम गर्न आग्रह गरे।

‘स्वीकृतिबाट सहजीकरणतर्फ जान सरकारले द्वारपाल होइन, साझेदारका रूपमा काम गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि
सोचमा परिवर्तन आवश्यक छ। त्यसो भए लगानीकर्तासँगै प्रणाली पनि आउँछ। अन्यथा अनिश्चितताका कारण लगानी हामीलाई छलेर अन्तै जानेछ।’

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष उत्तम भ्लोने लामा लगायतले जलविद्युत उत्पादन र प्रसारण लाइनको क्षेत्रमा लगानीको सम्भावनाबारे धारणा राखेका थिए।

नेपालका लागि भारतका पूर्वराजदूत मन्जीव सिंह पुरीले बजार पहिचान गरेर निजी क्षेत्रका नयाँ खेलाडी भित्र्याउन सुझाव दिए।

साधारण सभामा सरकारलाई सबैभन्दा बढी कर तिर्ने भोटेकोशी जलविद्युत् कम्पनी, सोल्टी होटल, युनिलिभर नेपाल, डाबर नेपाललगायत निक्कीका सदस्य र राजबहादुर शाहलाई सम्मान गरिएको थियो।

अर्थमन्त्री रामेश्वर खनालले सम्मानपत्र प्रदान गरेका थिए।

साधारण सभा समापनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा सहभागी भएका थिए।



The post नेपालमा लगानी आकर्षित गर्न डा. लोहनीले देखेका ६ अवरोध, सरकारलाई दिए यस्तो सुझाव appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category