npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

आचारसंहिता उल्लंघन गर्ने ५२ जनाले पठाए जवाफ

नेपालन्युज 11 hours ago

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका आधारमा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेको आयोगले जानकारी दिएको छ।

आयोगका उपसचिव तथा सहायक प्रवक्ता सीता पुनका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये प्रमाणित आधार देखिएका प्रकरणमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको हो। बाँकी रहेका व्यक्तिहरूबाट जवाफ प्राप्त हुने क्रम जारी रहेको छ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा आचारसंहिता विपरीत गतिविधि देखिएपछि आयोगले आवश्यक स्पष्टीकरण माग्दै अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र विषय तथा प्रमुख कोष नियन्त्रक कोष नियन्त्रकलाई आर्थिक पक्षको अनुगमन जिम्मेवारी दिँदै आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। ती अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग समन्वयात्मक छलफल गर्ने, उल्लंघनसम्बन्धी जानकारी संकलन गर्ने र आवश्यक परे स्पष्टीकरण माग्ने कार्य गर्दै आएका छन्।

आयोगले आचारसंहिताको पालना सुनिश्चित गर्न प्राप्त उजुरीमाथि जाँचबुझ तथा कारबाही प्रक्रिया निरन्तर अगाडि बढाइरहेको जनाएको छ। यस कार्यमा केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रहेको आयोगले उल्लेख गरेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category