npl.977 Nepal News Stream

Taksar News logo Taksar News

काठमाडौँ उपत्यकाका खाद्य व्यवसायमा विभागकाे अनुगमन, बेकरीको क्रोसन नष्टदेखि भण्डारण सुधारसम्म निर्देशन

टक्सार न्युज 14 hours ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाद्य पदार्थको उत्पादन तथा बिक्री–वितरण हुने स्थानहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको पछिल्लो निरीक्षण अनुगमनका क्रममा सरसफाइ, भण्डारण र लेबलिङसम्बन्धी कमजोरीहरू भेटिएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले गत पुस ३ र ४ गते उपत्यकाभित्रका विभिन्न खाद्य उद्योग तथा व्यवसायमा अनुगमन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार निर्देशन तथा कारबाही गरेको जनाएको छ।

गोदावरी–१४, ललितपुरस्थित नांग्लो बेकरी प्रा.लि.मा गरिएको निरीक्षणका क्रममा सरसफाइ अवस्था सामान्य रहे पनि ब्रेड, क्रोसन, पफ र डोनट जस्ता बेकरी सामग्री उत्पादन भइरहेको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा अनुसन्धानात्मक प्रयोजनका लागि क्रोसनको नमुना सङ्कलन गरिएको थियो। त्यसै क्रममा उद्योगबाट फिर्ता गरिएको १४० थान क्रोसन, करिब १५ हजार ४ सय रुपैयाँ बराबरको, उद्योग र विभागका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको विभागले स्पष्ट पारेको छ। उद्योगलाई नियमित सरसफाइ कायम गर्न निर्देशन दिइएको छ।

यसैगरी कालिमाटी र कुलेश्वर क्षेत्रका तीन खाद्य व्यवसायमा अनुगमन गरिएको थियो। कालिमाटी–१३ स्थित न्यू गुप्ता ब्रदर्समा सरसफाइ सामान्य रहे पनि दाल, चामललगायतका खाद्य पदार्थ भण्डारण गर्दा प्यालेटको प्रयोग नगरिएको पाइएको छ।

उक्त पसलबाट तीन थान सर्भिलेन्स नमुना संकलन गरिएको विभागले जनाएको छ। व्यवसायीलाई खाद्य पदार्थ भण्डारण गर्दा प्यालेटको प्रयोग गर्न तथा तेल, नुनजस्ता सामग्री प्रत्यक्ष सूर्यको प्रकाश पर्ने स्थानमा नराख्न निर्देशन दिइएको छ।

कालिमाटी–१३ मै रहेको टु एस आर खूप प्रा.लि.मा पनि यस्तै प्रकृतिका कमजोरी भेटिएका छन्।

सरसफाइ अवस्था सामान्य भए पनि बिक्री कक्षमा खाद्य पदार्थ भण्डारण गर्दा प्यालेटको प्रयोग नगरिएको पाइएको हो। यहाँबाट दुई थान सर्भिलेन्स नमुना संकलन गरिएको छ।

विभागले भण्डारण कक्ष सुधार गर्न, खाद्य पदार्थलाई सूर्यको प्रत्यक्ष प्रकाशबाट जोगाउन र पूर्ण लेबल विवरण तथा स्पष्ट उत्पादन मिति भएका सामग्री मात्र खरिद तथा बिक्री गर्न निर्देशन दिएको छ।

कुलेश्वर–१४ स्थित गुन्जेश्वरी ट्रेड लिंक प्रा.लि.मा गरिएको अनुगमनका क्रममा भने भण्डारण कक्ष सन्तोषजनक नरहेको पाइएको विभागले जनाएको छ।

अधिकांश भण्डारण कक्षमा प्यालेट प्रयोग नगरिएको, खाद्य पदार्थहरू भित्तासँग टाँसेर तथा भुइँमै राखिएको अवस्था भेटिएको हो। साथै, चिनी जस्ता खाद्य पदार्थमा उत्पादन मिति स्पष्ट रूपमा उल्लेख नगरिएको पाइएको विभागको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पछिल्लो अनुगमनले उपत्यकाका खाद्य व्यवसायमा सरसफाइभन्दा बढी भण्डारण प्रणाली र लेबलिङमा समस्या रहेको देखाएको छ। विभागले यस्ता कमजोरी सुधार नगरे कानुनअनुसार थप कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Read more news from Taksar News

Explore by Source or Category