सिटीको जितमा हालान्डको २ गोल
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ।
यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए।
टिज्जानी राइनडर्सले ३८ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी २-० ले अघि रह्यो। हालान्डकै पासमा पेनाल्टी क्षेत्रमा बल पाएका राइनडर्सले शक्तिशाली प्रहारमा गोल गरेका हुन्।
६९ औं मिनेटमा हालान्डले सिजनको आफ्नो १९औँ लिग गोल गर्दै टोलीको जित निश्चित गरे। पहिलो हाफमा वेस्ट ह्याम आक्रमणमा निकै कमजोर देखियो।
दोस्रो हाफमा केही सुधार गरे पनि सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।
यो जितपछि सिटी लिगको दोस्रो स्थानमा यथावत् छ। वेस्ट ह्याम भने १३ अंकसहित १८औँ स्थानमा छ ।
आर्सनल पुनः शीर्ष स्थानमा
आर्सनलले प्रिमियर लिगमा एभर्टनलाई १-० ले हराउँदै पुनः तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
हिल डिकिन्सन स्टेडियममा भएको खेलमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
खेलको २७औँ मिनेटमा भिएआर जाँचपछि एभर्टनका जेक ओब्रायनको ह्यान्डबल भएको पाइएको थियो ।त्यसमा आर्सनलले पेनाल्टी पायो। ग्योकेरेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्सनललाई अग्रता दिलाए। पछिल्ला ५ खेलपछि उनको पहिलो गोल हो ।
दोस्रो हाफमा आर्सनलले खेलमा राम्रो नियन्त्रण राख्यो। लिआन्ड्रो ट्रोसार्ड र मार्टिन जुबिमेन्डीको प्रहार पोस्टमा लाग्दा बुकायो साकाको एक प्रहार गोल लाइनमै रोकियो। अर्कोतर्फ एभर्टनले पेनाल्टी पाउनुपर्ने दाबी गरे पनि रेफ्रीले निर्णय बदलेनन्।
एक गोलको अग्रता जोगाउँदै आर्सनलले जित निकाल्यो र क्रिसमससम्म लिगको शीर्ष स्थानमा रहन सफल भयो। एभर्टन १०औँ स्थानमा सीमित छ।


The post सिटीको जितमा हालान्डको २ गोल first appeared on हाम्रो खेलकुद.