अनेरास्ववियुको प्रदर्शन : बालेन शाहको पुत्ला दहन
काठमाडौँ। दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएको घटनालाई लिएर काठमाडौँको प्रदर्शनीमार्गस्थित आर.आर. क्याम्पस अगाडि विरोध प्रदर्शन भएको छ।
एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहको पुत्ला जलाउँदै आक्रोश व्यक्त गरेको हो।
बिहीबार दाङमा चुनावी अभियानका क्रममा रास्वपा कार्यकर्ताहरूले एमालेको झण्डा जलाउनुका साथै उच्छृङ्खल गतिविधि गरेको भन्दै अनेरास्ववियु आन्दोलित बनेको हो।
यस्ता अराजनैतिक र अराजक कार्यले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरणलाई बिथोल्न खोजेको अखिलले ठहर गरेको छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले रास्वपा र बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका थिए। दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही नगरे देशभर थप सशक्त आन्दोलन चर्काउने चेतावनी अखिलले दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूबीच देशका विभिन्न स्थानमा विवाद र झडपका घटनाहरू बढ्न थालेका छन्।