npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

आचारसंहिताविपरीत टाँसिएका २० हजार प्रचार सामग्री हटाइयो

इन्द्र कमल रोक्का 4 hours ago

धनुषा। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको छ ।

प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युतका पोल, सरकारी भवन तथा सडक छेउमा टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि प्रशासनले उम्मेदवार र राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका सामग्री आफैं हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासनले करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको स्वरूपमा असर परेको र आचारसंहिता उल्लङ्घन भएकाले हटाइएको प्रशासनले जनाएको छ । अब फेरि यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।

मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा बढी मात्रामा यस्ता सामग्री टाँसिएको पाइएको छ । नियमविपरीत सामग्री टाँसिए हटाइने र सम्बन्धित उम्मेदवार तथा दलमाथि आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category