npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

दरवाङ-मुना-ढोरपाटन सडकको धारापानी-झिनडाँडा खण्ड ७१ प्रतिशत काम सकियो

पालिका ब्यूरो 5 hours ago

म्याग्दी – दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ को धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी जिल्लाको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त यस सडक आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा हेरिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्म ढलान, कालोपत्र र ग्राभेल गर्ने काम भइरहेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

हाल ताकम खण्डमा करिब ९ सय मिटर प्रिमिक्स कालोपत्रका लागि बेस र सबबेस बिछ्याउने काम सकिएको छ । छ किलोमिटर दूरीमा सडक फराकिलो बनाउने, नाली तथा टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । यसअघि चारदेखि पाँच मिटर चौडाइ रहेको सडकलाई आठ मिटर फराकिलो बनाइँदैछ ।

सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । निर्माण कम्पनीका अनुसार चालु आर्थिक वर्षभित्रै उक्त खण्डको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच, सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) खण्डमा अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा अर्को ठेक्का सम्झौता भई निर्माण सुरु भएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिना रहेको छ ।

म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकासँगै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category