npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

हिमालयन रिको कार्यालयमा बीमा प्राधिकरणको नियमन टोली, समस्याग्रस्त घोषणा गर्ला?

Sunil Kunwar 15 hours ago

काठमाडौं। हिमालयन रि इन्स्योरेन्सका सञ्चालक र उच्च व्यवस्थापकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढेपछि नेपाल बीमा प्राधिकरणले कम्पनीमा आफ्नो टोली पठाएको छ।

हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्ने/नगर्ने विषयमा निर्णयमा पुग्नका लागि प्राधिकरणले बिहीबार नियमन टोली खटाएको हो। प्राधिकरणका केही कर्मचारीको टोलीले हिमालयन रिको सञ्चालन र वित्तीय अवस्थाबारे विस्तृतमा अध्ययन थालेको छ।

नियमनमा खटिएको टोलीले दिने प्रतिवेदनका आधारमा प्राधिकरणले हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्ने/नगर्ने निर्णय लिनेछ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा र अनुसन्धानपछि हिमालयन रिइन्स्योरेन्समा थप विस्तृत अध्ययन गर्नका लागि प्राधिकरणबाट इन्सपेक्सन टोली खटिएको छ,’ स्रोतले भन्यो, ‘टोलीले कम्पनीको सञ्चालन र वित्तीय स्थिति हेरेर दिने विस्तृत प्रतिवेदनका आधारमा समस्याग्रस्त घोषणा गर्ने वा नगर्ने निर्णय हुनेछ।’

बीमा ऐनमा विभिन्न १३ वटा अवस्थामा बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ।

बीमकले न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष कायम गर्न नसकेमा, बीमकको कुल सम्पत्ति र दायित्वको अनुपात कायम नभएमा, बीमकको संस्थापक सेयरधनीले ठगी, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा, जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेस गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्र प्राप्त गरेको प्रमाणित भएमा लगायत आधारमा बीमितको हक हित संरक्षणका लागि प्राधिकरणले बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था छ।

प्राधिकरणले अहिले कम्पनीका संस्थापक सेयरधनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका कारण कानुनमा भएको व्यवस्था अनुसार समस्याग्रस्त घोषणा गर्नुपर्ने अवस्था छ/छैन भन्ने बुझ्नका लागि नियमन टोली खटाएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत मंगलबार दीपक भट्ट र उनका साझेदार सुलभ अग्रवालको घर तथा हिमालयन रि इन्स्योरेन्सको कार्यायलमा छापा हानेको थियो।

विभागले छापा हानेपछि प्राधिकरणले कम्पनीको समग्र सञ्चालनको स्थितिबारे निर्णय गर्न नियमन टोली पठाएको हो।

‘प्राधिकरणले यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पठाएको पत्रका आधारमा विस्तृत छानबिन गरेर प्रतिवेदन पठाइसकेको थियो। अहिले अर्को प्रयोजनका लागि नियमन टोली खटाइएको,’ स्रोतले भन्यो, ‘कम्पनीको नयाँ सञ्चालक समितिले काम गर्न सक्ने भए निरन्तरता दिने र काम गर्न नसक्ने अवस्था देखिए समस्याग्रस्त घोषणा गरी व्यवस्थापन टेकओभर गर्ने एक्सन अगाडि बढ्नेछ। त्यसका लागि नियमनमा खटिएको टोलीको प्रतिवेदन कुर्नुपर्नेछ।’

कम्पनीको पैसा दुरुपयोग गरेको प्रकरणमा संस्थापक सेयरधनी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाइएपछि त्यसको प्रभाव कम्पनीको सेयर मूल्यमा परेको छ।

भट्ट र सुलभ प्रहरीको हिरासतमा छन्। कम्पनीका यसअघिका सञ्चालक साहिल अग्रवाल प्रहरीको फरार सूचीमा छन्। कम्पनीका अध्यक्ष शेखर गोल्छाले एक महिनाअघि नै राजीनामा दिएका छन्।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि हिमालयन रिको सञ्चालक समिति साधारण सभा नभएसम्मका लागि पुनर्गठन गरिएको छ।

गोल्छाको राजीनामापछि उदयकुमार निरौला अध्यक्ष बनेका छन्। साहिलको ठाउँमा दीपेन्द्र कुमार मिश्रलाई सञ्चालक बनाइएको छ। कम्पनीमा रोहित गुप्ताको ठाउँमा पृथ्वीराज थापा आएका छन्। कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) उपासना पौडेल पनि अनुसन्धानको राडारमा छिन्।

The post हिमालयन रिको कार्यालयमा बीमा प्राधिकरणको नियमन टोली, समस्याग्रस्त घोषणा गर्ला? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category