npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

यस्ता छन् कांग्रेस, एमाले र रास्वपाको घोषणापत्रमा कृषि क्षेत्रका एजेन्डाहरु

Sarala Subedi 14 hours ago

काठमाडौं । आज नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधिसभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

एमालेले बिहीबार सार्वजनिक गरेको घोषणा पत्रमा कृषि उत्पादनको परम्परागत संरचनालाई आधुनिक उद्यम व्यवसाय मा रुपान्तरण गर्ने उल्लेख गरेको छ।

घोषणा पत्रमा एमालेले कृषिका लागि विभिन्न एजेन्डाहरु प्रस्तुत गरेको छ। कृषिको आधारभूत ढाँचा परिवर्तन गर्न नीतिगत र कानुनी सुधार गर्नेदेखि आधुनिक मेसिन ,उपकरण र प्रविधिको प्रयोग गरेर उद्यमशील युवाहरुले संचालन गर्ने नाफामूलक उद्योगको रुपमा कृषि व्यवसायको विकास गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ।

मझौला वा ठूला स्केलका खेती तथा पशुपंक्षी ,मत्स्य तथा मौरी पालनका फर्महरु संचालन गर्ने कृषि उद्यमीहरुलाई सहुलियत ऋण, बीमा सुविधा र सार्वजनिक जग्गा सहुलियत दरमा लिजमा उपलब्ध गराउने भनिएको छ। जमिन ,वित्तिय स्रोतसाधन, कृषि उपजको समर्थन मूल्य, बीमा र व्यावसायिक उत्पादनकर्तासगँ अग्रिम कृषि उपज खरिद सम्झौता सहितको भूमि बैंकको व्यावसायिक ‘इकोसिस्टम’ निर्माण गर्ने घोषणा पत्रमा उलेख्ख छ।

त्यस्तै, कृषि उपजको संकलन, भण्डारण, ग्रेडिङ र प्रोसेसिङ गरि मूल्य अभिवृद्धि गर्ने, बजारसम्मको नेटवर्क तयार गर्ने र उपयुक्त मूल्यमा बिक्री गरि कृषकले नाफा आर्जन गर्नसक्ने तुल्याउन स्थानीय तहमार्फत ‘एग्रो प्रोसेसिङ जोन तथा लजिस्टिक्स नोड्स’ संचालनका लागि पूर्वाधार सेवा राज्यमार्फत उपलब्ध गराउने पनि भनिएको छ।

खाद्यान्न आयातलाई आन्तरिक उत्पादनबाट क्रमश प्रतिस्थापन गर्ने प्रतिबद्धता एमालेको छ। उच्च मूल्यका तरकारी, फलफूल, अलैंची, मसला, जडिबुटी, चिया कफी र बिउहरु ठूलो परिमाणमा उत्पादन गरि निर्यात गर्ने कृषि उद्यमीहरुलाई उत्पादनमा आधारित निर्यात अनुदान उपलब्ध गराउने पनि उल्लेख छ।

कृषिमा रास्वपाको एजेन्ड

राष्ट्रिय स्वतन्त्र पार्टीले अनिश्चिताको घेराभित्र रहेको कृषि क्षेत्रलाई नीगित स्थायित्व,स्थिर बजार, पारदर्शी अनुदान,विश्वसनिय बीमा प्रणाली ,पर्याप्त सिँचाइ तथा प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत नेपालमा कृषि गरेर धनी हुन सकिन्छ’ भन्ने विश्वास सहित सम्मानजनक पेशाका रुपमा पुन: स्थापना गर्दै समग्र अर्थतन्त्रको बलियो आधार तयार गर्ने वाचा पत्रमा उल्लेख गरेको छ।

कृषि उत्पादन र व्यापार सन्तुलनको विषयमा मात्र सिमित नराखी ,खाद्य सुरक्षा र पौष्टिक सुरक्षाजस्ता राष्ट्रिय लक्ष्यहरुसगँ जोडेर मुख्य प्राथमिक क्षेत्रका रुपमा अघि बढाउँदै कृषिमा उत्पादकत्व वृद्धि र कृषकको बृहत्तर हित सुनिश्चित गर्न आवश्यक नीति तथा कार्यक्रम, निजी क्षेत्रमैत्री लगानीको नीति ,आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै पर्याप्त स्रोत विनियोजन गर्ने वाचा गरिएको छ।

कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरि व्यापार सम्झौताहरु गर्ने पनि भनिएको छ। नेपालमै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक ऐन कानुन, भन्सार तथा अन्य नीतिगत सुधारहरु तत्काल गर्ने वाचा पत्रमा भनिएको छ।

साथै, कृषि उपजको प्रशोधन तथा मूल्य अभिवूद्धि हुने उद्योगलाई विशेष प्राथमिक्ता दिँदै कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहका प्रभावकारी उपायहरु लागू गर्ने रास्वपाको घोषणापत्रमा उल्लेख छ।

प्रविधिको प्रयोगबाट कृषि उत्पादकत्व बढाउन ‘फिनटेक र एग्रिटेक’लाई विस्तार गर्ने लक्ष्य लिइएको छ। नेपालमा जग्गाको उपलब्धता र कृषि सम्भावनाको उच्चतम उपयोग सुनिश्चित गर्न भू उपयोग उजनाको पुनरावलोकन गर्ने भनिएको छ। यससँगै सिँचाइ, रासायनिक मलखाद तथा कृषि यान्त्रिकरणमा प्राथमिकताका साथ लगानी वृद्धि तथा उत्पादन लागत न्यूनिकरण गर्ने वाचा गरिएको छ।

त्यस्तै, कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण, जलवायु अनुकूलनतथा मूल्य श्रृङखला विकासमा प्रभावकारी योगदान पुर्याइ समग्र उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यसहित कृषि अनुसन्धान परिषदको पुनर्संरचना गर्ने वाचा पत्रमा उलेख्ख गरिएको छ।

कृषि र कांग्रेस

नेपाली कांग्रेसले मेरो किसान मेरो अन्नदाता नाराका साथ कृषि क्षेत्रलाई आफ्नो घोषणापत्रमा राखेको छ।

कृषिलाइ राष्ट्रिय सुरक्षाको प्राथमिक क्षेत्रका रुपमा रुपान्तरण गर्ने र परम्परागत निवार्हमुखी खेतीलाई आधुनिक उद्यममा बदल्ने संकल्प कांग्रेसको छ। आगामी दशकलाई कृषि, खाद्य तथा पोषण सुरक्षा दशक घोषणा गरेर कृषिऔद्योगिकरण, रोजगरी सिर्जना र किसान कल्याण र निर्यात प्रवर्धनको लक्ष्य कांग्रेसले लिएको छ।

राष्ट्रिय सुरक्षाका लागि खाद्यान्न तथा पोषण सुरक्षा, मलको उपलब्धता, किसान कल्याण र समूद्धि, कृषि क्षेत्रको व्यवसायीकरण तथा औद्योगिकरण, लगानी विस्तार र वित्तिय पहुँच र संस्थागत सुधारमा कांग्रेसले जोड दिएको छ।

त्यस्तै, कृषि उपजको मूल्य सुनिश्चितता, आयात व्यवस्थापन र निर्यात प्रवर्धन, नवप्रवर्तनशील कृषि र उद्यमशीलता विकास, दिगो पर्यावरणीय,जलवायुमैत्री कृषि, प्रविधि प्रसार, समावेशीकरण र महिना सशक्तीकरण गर्ने पनि घोषणा पत्रमा उल्लेख छ।

तरकारी, फलफूल, माछा, दूध, मासु र अन्डामा आत्मनिर्भर बन्न सिलो, कोल्ड स्टोर जस्ता भण्डारणका मार्फत बफर स्टकको व्यवस्था गरिने भनिएको छ। मल खरिदमा क्यालेन्डर बनाएर किसानलाई चाहिएको अवस्थामा वितरण गर्ने नीति बनाउने पनि उल्लेख छ।

साना किसानलाई किसान क्रेडिट कार्ड, बीमा र सहुलियतको व्यवस्था गर्ने वाचा पनि गरिएको छ। त्यस्तै, किसान परिवारलाई माटो स्वास्थ्यता कार्ड उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख छ।

The post यस्ता छन् कांग्रेस, एमाले र रास्वपाको घोषणापत्रमा कृषि क्षेत्रका एजेन्डाहरु appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category