PalikaNews
स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर
धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उल्लेख्य सुधार गरेको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलगायत कार्यक्रम सञ्चालन गरी नागरिकका घरदैलोमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो ।
विसं २०७९ को स्थानीय तह निर्वाचनपछि नगरप्रमुखमा निर्वाचित गोपाल हमालले २०७९ साउनदेखि वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका हुन् । ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी सुरु गरिएको यो कार्यक्रमबाट आर्थिक रूपमा कमजोर नागरिक विशेष रूपमा लाभान्वित भएका छन् ।
उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १५ हजार २३ जनाले सेवा लिएका छन् । कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराका अनुसार सेवा लिनेहरूमध्ये ११ हजार १९४ महिला र तीन हजार ८२९ पुरुष छन् ।
क्लिनिकमार्फत एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ र गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञद्वारा निःशुल्क सेवा प्रदान हुँदै आएको छ । सो अवधिमा नौ हजार ३१० जनाले जनरल फिजिसियनबाट, एक हजार ५८० महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र चार हजार १३३ जनाले आँखारोगसम्बन्धी सेवा लिएको बोहराले जानकारी दिए ।
त्यसैगरी नौ हजार ७७१ जनाले प्रयोगशाला सेवा, एक हजार ७७३ जनाले इसिजी सेवा, एक हजार ९०१ गर्भवतीले स्वास्थ्य सेवा लिएका छन् । तीमध्ये सात सय २२ जनाले अल्ट्रासाउण्ड सेवा प्राप्त गरेका छन् । साथै ७० वर्षभन्दा माथिका तीन हजार ७३५ ज्येष्ठ नागरिकले पनि क्लिनिकमार्फत स्वास्थ्य सेवा लिएका छन् ।
विपन्न नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पु-याउने उद्देश्यले प्रत्येक महिना १९ वटै वडामा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको उपमहानगरले जनाएको छ । गत आर्थिक वर्षमा यस कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुषले सेवा लिएका थिए ।
‘आमा बचाउ’ अभियानबाट निःशुल्क एम्बुलेन्स सेवा
धनगढी उपमहानगरपालिकाले गर्भवती, सुत्केरी तथा प्रसूति अवस्थामा रहेका महिलालाई लक्षित गर्दै ‘आमा बचाउ’ अभियानसमेत सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रका महिलालाई अस्पतालसम्म सुरक्षित रूपमा पु¥याउने उद्देश्यले उपमहानगरले चार वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा दिँदै आएको छ ।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुई सय ३३ जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भने पाँच सय ८० जनाले उक्त सेवा लिएको उहाँले जानकारी दिए ।
“ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव छ, यही समस्यालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो,” अवस्थीले भने ।
उपमहानगरपालिकाका यी कार्यक्रमहरूले मातृ तथा शिशु स्वास्थ्य सुधारसँगै सर्वसाधारण नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।