सन्यास लिन लागेका हुन् नेयमारले ?
काठमाडाैं । ब्राजिलियन राष्ट्रिय टोलीका कीर्तिमानी गोलकर्ता नेयमार जुनियरले व्यावसायिक फुटबलबाट सन्यास लिन सक्ने संकेत दिएका छन्। ३४ वर्षीय फरवार्डले हालै एक अन्तर्वार्तामा आफ्नो भविष्यलाई लिएर अनिश्चितता व्यक्त गर्दै यसै वर्षको अन्त्यसम्ममा खेल जीवनलाई बिट मार्न सक्ने बताएका हुन्।
पछिल्लो केही सिजनदेखि लगातार चोटबाट गुज्रिरहेका नेयमारले भनेका छन्, “मलाई थाहा छैन अब के हुनेछ। म अहिले वर्ष-वर्षको हिसाबले बाँचिरहेको छु। हुन सक्छ, डिसेम्बर महिना आउँदासम्म मलाई सन्यास लिने इच्छा जाग्न सक्छ।”
सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन जाँदा कीर्तिमानी २ सय मिलियन पाउण्डको मूल्य पाएका नेयमारको करियर पछिल्लो समय चोटका कारण नराम्ररी प्रभावित भएको छ। साउदी क्लब अल-हिलालमा चोटकै कारण थोरै खेल खेलेपछि उनी सन् २०२५ मा आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका थिए।
नेयमार ब्राजिलका लागि सर्वाधिक ७९ गोल गर्ने खेलाडी हुन्, जसले महान् खेलाडी पेलेको कीर्तिमान समेत तोडिसकेका छन्। तर, आगामी जुन-जुलाईमा हुने विश्वकपका लागि उनको स्थान अझै सुनिश्चित छैन ।
गत डिसेम्बरमा घुँडाको शल्यक्रिया गरेपछि नेयमार भर्खरै मैदान फर्किएका छन्। गत हप्ता सान्तोसको ६-० को जितमा उनले केही समय मैदानमा बिताएका थिए।
ब्राजिलका वर्तमान मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले शारीरिक रूपमा शतप्रतिशत फिट रहेका खेलाडीलाई मात्र विश्वकप टोलीमा समावेश गर्ने स्पष्ट पारेका छन्। नेयमारले अक्टोबर २०२३ देखि ब्राजिलका लागि खेलेका छैनन्। उनले स्वीकार गरेका छन् कि एन्सेलोटीको टोलीमा स्थान बनाउनु उनका लागि “ठूलो चुनौती” हुनेछ।
नेयमारले सान्तोससँगको सम्झौता सन् २०२६ को अन्त्यसम्मका लागि थप गरेका छन्। यद्यपि, उनको पछिल्लो अभिव्यक्तिले उनले सम्झौता अवधि नसकिँदै मैदान छोड्न सक्ने देखिएको छ।