विष्ट कृष्णपुरको खेलकुद सद्भावना दूत नियुक्त
धनगढी (हाम्रो खेलकुद)- ओलम्पियन दीपक विष्ट कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको खेलकुद सद्भावना दूत नियुक्त भएका छन्।
कृष्णपरको वडा नं ८ विचुवामा जन्मेका विष्टले खेलकुद मार्फत नगरपालिका, जिल्ला, सुदूरपश्चिम प्रदेश हुँदै राष्ट्रको गौरव बढाउन योगदान गरेको भन्दै नगरपालिकाले आफ्नो खेलकुद सद्भावना दूत नियुक्त गरेको जनाएको छ।
नगरपालिकाको २०८१ पुस २८ गतेको बसेको १६औं नगर-सभाबाट विष्टलाई खेलकुद सद्भावना दूत नियुक्त गर्ने निर्णय भएको थियो।
१६औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको समापनमा आज विष्टलाई खेलकुद सद्भावना दूत नियुक्तीको पत्र नगर प्रमुख हेमराज ओझाले हस्तान्तरण गरे। सोही अवसरमा विष्टलाई सम्मान पनि गरिएको थियो।

विष्टले ४ पटक सन् १९९९, २००४, २००६, २०१० को दक्षिण एसियाली खेलकुद (साफ) को तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए।
त्यस्तै २००२ र २००६ मा एसियाली खेलकुदमा कास्य पदक जितेका थिए। साफमा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जित्ने उनी नेपालका एक्लो खेलाडी हुन्।
त्यस्तै छनोट चरण पार गरेर उनले २००८ को बेइजिङ ओलम्पिकमा भाग लिएका थिए। नेपाल ओलम्पियन्स संघका अध्यक्ष समेत रहेका विष्ट राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारीको निर्देशक हुन्।
The post विष्ट कृष्णपुरको खेलकुद सद्भावना दूत नियुक्त first appeared on हाम्रो खेलकुद.