रेफ्रीको निर्णयप्रति चर्च ब्वाइजको आपत्ति, एकपक्षीय खेलाएको प्रशिक्षकको आरोप
विराटनगर। विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा हार व्यहोरेपछि चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक रमेश दंगालले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार राति सहिद मैदानमा भएको खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबसँग ३–० ले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक दंगालले फिफा रेफ्री श्याम दनुवारको भूमिकामाथि प्रश्न उठाएका हुन्।
प्रशिक्षक दंगालले आफ्नो क्लब एक प्रतिष्ठित र ऐतिहासिक टिम भएको उल्लेख गर्दै ठूलो लगानी गरेर टप खेलाडीहरू अनुबन्ध गरिएको बताए। तर, मैदानमा रेफ्रीको ‘विवादास्पद’ निर्णयका कारण नतिजा अस्वाभाविक आएको उनको दाबी छ। “हामी मुफसलको टिमसँग ३–० को अन्तरले हार्नुपर्ने टोली होइनौं, रेफ्रीको निर्णयले हामीलाई निकै निराश बनाएको छ,” उनले भने, “आयोजक कमिटीले यस्ता प्राविधिक विषयमा गम्भीर ध्यान दिन जरुरी छ।”
दंगालले रेफ्रीका केही विशिष्ट निर्णयहरूलाई बुँदागत रूपमा गल्तीका रूपमा औंल्याएका छन्। उनका अनुसार पहिलो हाफमा चर्च ब्वाइजले गोल गर्ने स्पष्ट अवसर प्राप्त गरेको बेला रेफ्रीले बिना कुनै ठोस कारण फउल दिएर खेल रोकेका थिए। यस्तै, ७ नम्बर जर्सीका खेलाडी बल लिएर अगाडि बढ्दा विपक्षीले पछाडिबाट तान्दा समेत रेफ्री मौन बसेको र आफ्ना खेलाडीलाई अनावश्यक कार्ड दिएको तर विपक्षीलाई उस्तै गल्तीमा कुनै चेतावनी नदिएको उनको आरोप छ।
“रेफ्री भएपछि दुवै टिमलाई समान व्यवहार गर्नुपर्ने हो, तर आजको खेलमा घरेलु टोलीको पक्षमा एकपक्षीय निर्णयहरू भए,” दंगालले थपे, “यस्ता गल्तीले फुटबलको स्तर घटाउँछ।”
चर्च ब्वाइजका कप्तान दिप कार्कीले भने रेफ्रीको निर्णयसँगै टोली फिनिसिङमा चुक्नु पनि हारको अर्को कारण रहेको स्वीकार गरे। उनले पाएका अवसरहरूलाई सदुपयोग गर्न नसक्नु आफ्नै कमजोरी रहेको बताए।
अब शनिबार राति ७ बजे हुने फाइनल भिडन्तमा उपाधिका लागि झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्नेछन्। सम्राट क्लब पहिलो पटक विराट गोल्डकपमा सहभागी हुँदै फाइनलसम्म पुग्न सफल भएको हो। यसअघि सम्राटले भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मी जस्ता विभागीय टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।