npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

अमेरिकामा हिमपहिरोमा पुरिएर ९ जनाको मृत्यु

भवानी प्रसाद पाण्डे 1 day ago

अमेरिकामा हिमपहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यअन्तर्गत पर्ने लेक टाहो क्षेत्रको दुर्गम हिमाली भागमा आएको भीषण हिमपहिरोमा बेपत्ता भएका स्की खेलाडीहरूमध्ये आठ जनाको शव फेला परेको हो।

प्रतिकूल मौसम र उच्च जोखिमका बीच खोज तथा उद्धार टोलीले निरन्तर प्रयास जारी राख्दै शवहरू पत्ता लगाएको हो। नेभाडा काउन्टीकी प्रहरी प्रमुख सानन मुनले अझै एक जना बेपत्ता रहेको र उनको पनि मृत्यु भएको अनुमान गरिएको जानकारी दिइन्।

अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना खोज तथा उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीकै जीवनसाथी रहेका छन्। यस कारण उद्धार अभियान भावनात्मक रूपमा निकै पीडादायी बनेको जनाइएको छ।

क्यासल पिक क्षेत्रमा ठूलो हिमपहिरो खसेपछि १५ जना स्की खेलाडी सम्पर्कविहीन भएका थिए। तीमध्ये छ जनाको जीवितै उद्धार गरिएको छ। हिमपहिरोपछि सो क्षेत्रमा थप करिब तीन फिट हिउँ परेकाले उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण बनेको राष्ट्रिय वन क्षेत्रका अधिकारीहरूले बताएका छन्।

हालसम्म फेला परेका आठ जनाको शव बाक्लो हिउँभित्रै रहेकाले मौसम अनुकूल भएपछि मात्र बाहिर निकालिने जनाइएको छ। अधिकारीहरूका अनुसार मृतकमध्ये सात महिला र दुई पुरुष रहेका छन्।

जीवित उद्धार गरिएका छ जनामध्ये एक जना पथप्रदर्शक र पाँच जना साहसिक भ्रमणमा सहभागी रहेका थिए। घाइते दुई जनालाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।

ती सबै स्की खेलाडी तीन दिनको साहसिक यात्रापछि फर्कने क्रममा हिमपहिरोमा परेका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमको कार्यालयले स्थानीय तथा राज्यस्तरीय निकायहरूबीच समन्वय गरेर खोज तथा उद्धार कार्य तीव्र बनाइएको जनाएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category