npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

लक्ष्मीको ‘गयो गयो उमेर’ मा मिथिला

Online Tv Nepal 18 hours ago

काठमाडौँ । धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौं रमेर’ सार्वजनिक गरिएको छ । अभिनेत्री मिथिला शर्मासहितका कलाकारहरूद्वारा अभिनित उक्त गीतको भिडिओमा गीतले दिएको सकारात्मक संदेशको प्रशंसा गरिएको छ ।

अभिनेत्री मिथिला शर्माले लक्ष्मीको सपनाको एउटा हिस्सा बन्न पाउँदा खुसी लागेको बताइन । ‘मलाई भिडिओमा काम गर्ने अफर आउँदा म गायिका लक्ष्मीको परिवार प्रतिको त्याग र अहिले परिवारकै साथका कारण गायिका बनेको सुन्दा प्रभावित भएँ । हामी कलाकारितामा लाग्नेले परिवारको साथ नभई आफ्नो उदेश्यमा सफलता पाउन सक्दैनौँ । लक्ष्मीजी ढिलै भएपनि गायनमा आउनुभएको छ, अब निरन्तरता दिनुहुनेछ भन्ने आश छ’, अभिनेत्री शर्माले भनिन् ।

गायिका लक्ष्मीले बाल्यकालदेखि नै गायनमा रूची भएता पनि पारिवारिक दायित्वका कारण निरन्तरता दिन नसकेको बताइन । ‘मैले परिवारलाई समय दिएँ, किनकी त्यो समयमा मेरो त्यही दायित्व थियो । अहिले परिवारको साथले मैले आफ्नो सपना पुरा गरेकी छु । आफ्नो सपनामा इमान्दार भएर लाग्यो भने त्यसले पूर्णता पाउँछ भन्ने सुनेकी थिएँ, आज आफैँमा त्यो यथार्थ बन्यो’, गायिका महर्जनले भनिन् ।

उनले आफ्नो दिदी सुशीला भुजेलले रचना गरेको शब्दलाई स्वर खोज्दै सङ्गीतकार कहाँ पुगेको स्मरण गरिन् । ‘मैले डमी गाएकी थिएँ, हामी अर्कै स्वर खोजिरहेका थियौँ । सङ्गीतकारले मेरो स्वरमै सुहाउँछ भनेपछि मैले गएकी हुँ । यो सुरुआत हो, मैले पहिलो पाइला टेकेकी छु’, गायिका महर्जनले भनिन् ।

उक्त गीतमा शिव शाहीको कर्णप्रिय सङ्गीत रहेको छ । सार्वजनिक भिडियोमा अभिनेत्री शर्मासँगै कृष्ण भक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्र मान जोशी, न्युछे महर्जन, सुशीला भुजेल, लक्ष्मी भुजेल महर्जन, सबिना महर्जन, उर्मिला जोशी, श्रीजना मानन्धर, लीला कट्टेल, जिभिसन मान जोशी, बीना जोशी, नीरज अंशु प्रधान, चन्द्र मान श्रेष्ठ, रमेश श्रेष्ठ, राहुल थापा लगायतले अभिनय गरेका छन् । निर्देशक रवि सायमीको निर्देशनमा तयार भएको उक्त भिडिओमा भवानी शिलाकारले छायांकन, प्रिया कार्कीले शृंगार र निर्देशक स्वयम् सायमीले सम्पादन गरेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category