निर्वाचनमा आइदिनुहोस्, सरकारले सुरक्षाको वातावरण बनाउँछ : प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन्।
उनले सोमबार सिंहदरबारमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकारवालाबीचको बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन सरकार लागिपरेको बताइन्।
बैठकमा राजनीतिक दलका नेताहरुले सुरक्षा व्यवस्थालाई लिएर चासो राखेका थिए।
‘सरकार सम्पूर्णरूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ। सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन। त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजीले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो। जनताले परिवर्तन चाहेका छन्। त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ।’
प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटिका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेगलाई सरकारले अहिले सामना गरिरहेको बताइन्।
उनले जेनजीहरुलाई पनि संयमित हुन र रिस पोख्ने नाममा स्थिति बिग्रिन नदिनका लागि सचेत हुन आग्रह गरिन्। ‘सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,’ उनले भनिन्।
बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेका सचिव महेश बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डे र वर्षमान पुन, रास्वपाका शिशिर खनाल, जेनजी प्रतिनिधि, नागरिक समाजका तर्फबाट राधेश्याम अधिकारी लगायत सहभागी थिए।
The post निर्वाचनमा आइदिनुहोस्, सरकारले सुरक्षाको वातावरण बनाउँछ : प्रधानमन्त्री कार्की appeared first on BIZMANDU.