भिनिसियसको गोलमा रियलको जित, खेल १० मिनेट रोकियो
एजेन्सी – भिनिसियस जुनियर को शानदार गोलको मद्दतमा रियल म्याड्रिडले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा बेन्फिका लाई १-० ले हराएको छ।
एस्टाडियो दा लुजमा भिनिसियसको गोलपछि भएको विवादका कारण १० मिनेट रोकिएको थियो। ५०औं मिनेटमा गोल गरेपछि भिनिसियस आफूमाथि केही भनिएको भन्दै निकै रिसाएका देखिएका थिए। उनी केही समय बेन्चमा बसेका थिए र खेल्न नचाहेको जस्तो देखिए पनि पछि फर्किएर खेल पूरा खेले। उनका टोलीका खेलाडी पनि बाहिर गएपछि खेल १० मिनेट रोकियो।
खेलको सुरुवातमा रियलले राम्रो प्रदर्शन गर्न सकेन। तर पहिलो हाफको अन्त्यतिर भने रियलले लगातार अवसर बनाएको थियो। भिनिसियसको एउटा प्रहार बाहिर गयो। उनको पासमा किलियन एम्बाप्पे ले गोल गर्ने राम्रो मौका गुमाए।
एम्बाप्पेको अर्को प्रहार पनि बेन्फिकाका गोलकिपर अनातोली ट्रुबिन ले बचाए। ट्रुबिनले अर्डा गुलरको प्रहार पनि रोकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
तर दोस्रो हाफमा भिनिसियसले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बक्स बाहिरबाट सुन्दर कर्लिङ गोल गरे र रियललाई अग्रता दिलाए।
गोलपछि बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियानीसँग विवाद भएपछि भिनिसियस रेफ्री फ्रान्कोइस लेटेक्सियर कहाँ पुगेका थिए। जातीय दुर्व्यवहारको आशंकापछि युइएफएको नियमअनुसार खेल केही समय रोकिएको थियो।
त्यसपछि पनि रियलले खेलमा दबाब कायम राख्यो। अन्त्यतिर बेन्फिकाका प्रशिक्षक जोस मोरिन्होले लगातार दुई पहेंलो कार्डपछि रातो कार्ड पाए र मैदान छाडे। दोस्रो लेगमा उनी टच लाइनमा बस्न पाउने छैनन् ।
च्याम्पियन्स लिगको अन्य खेलको प्ले अफको पेरिस सेन्ट जर्मेन (पिएसजी), बोरुसिया डर्टमुन्ड र गालातासरे विजयी भएका छन्। पिएसजीले मोनाकोलाई ३-२ ले , डर्टमुन्डले एटलान्टालाई २-० र गालातासरे युभेन्टसलाई ५-२ ले हराएको छ।
The post भिनिसियसको गोलमा रियलको जित, खेल १० मिनेट रोकियो first appeared on हाम्रो खेलकुद.