शेखर कोइरालाको प्रतिबद्धता: सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।
कोइरालाले आफूले सुकुम्बासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमै आएर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने बताए। “म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु। आयोगका सदस्यसँग कुरा भएको छ। उहाँ यहाँ आउनुहुन्छ, तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ,” उनले भने। सुकुम्बासीलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाइने उनको दाबी थियो।
उनले अर्को महत्वपूर्ण एजेन्डाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारे। चक्रपथ निर्माण नहुँदा शहरको विकासले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो। “चक्रपथ बनेको भए वडा नं. ६ र ४ को स्वरूप नै फरक हुन्थ्यो। व्यापार, आवागमन र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउँथ्यो, तर दुर्भाग्यवश काम अघि बढेन,” उनले उल्लेख गरे। यसपटक आफू निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा समन्वय जुटाउने उनले प्रतिबद्धता व्यक्त गरे।
वडा नं. ६ भित्रको कालोपत्रे सडक निर्माण सम्बन्धी विषयमा बोल्दै उनले ठेक्का लागिसके पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको बताए। निर्वाचनपछि उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने उनले आश्वासन दिए। “काम सुरु भएर पनि अधुरो रहनु दुःखद हो। अब यस्तो ढिलाइ हुन दिइँदैन,” उनले भने। त्यसका लागि कांग्रेसलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरे।
यसैगरी, वडा नं. ६ नजिकै रहेको सुकुम्बासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। करिब दुई वर्षअघि नै सो क्षेत्रमा अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै उनले अब त्यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए। स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।