npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

कार्यवाहक प्रमुख डङ्गोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता, सहकार्य बारे छलफल

पालिका ब्यूरो 6 hours ago

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सहरी सुरक्षा, सडक व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीसँग सहकार्य सुदृढ गर्ने भएको छ ।

यसै सन्दर्भमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच आज भएको भेटवार्तामा काठमाडौँका सडक, सहरी सुरक्षा तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।

छलफलका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले ट्राफिक व्यवस्थापन सुदृढीकरण, अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी सरसफाइ र ‘सडक मानवमुक्त’ अभियानजस्ता प्राथमिक क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायसँगको समन्वय अपरिहार्य भएको उल्लेख गर्दै साझा प्रयासमार्फत काठमाडौँलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउन प्रहरी तयार रहेको जनाउँदै उपत्यका प्रहरी कार्यालयमार्फत समन्वयलाई संस्थागत गरिने जानकारी दिनुभयो। उहाँका अनुसार सहकार्यलाई प्रभावकारी बनाउन प्रहरीतर्फबाट ‘फोकल पर्सन’ समेत तोकिएको छ।

महानगर र प्रहरीबीचको यो सहकार्यले काठमाडौँमा बढ्दो सहरी चुनौती—ट्राफिक जाम, अतिक्रमण, असुरक्षा र अव्यवस्थित बसोबास—समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Read more news from PalikaNews

Explore by Source or Category