npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

बागमती प्रदेश सरकारको नौ महिनाको खर्च २३ प्रतिशत

इन्द्र कमल रोक्का 3 hours ago

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा २३ दशमलव ०९ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि चैतसम्ममा कुल बजेटको २८ दशमलव ७९ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालका अनुसार चालु आव २०८२/८३ को नौ महिनामा प्रदेश सरकारले चालुतर्फ ३७ दशमलव ८६ प्रतिशत र पुँजीगततर्फ २३ दशमलव ०९ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा नौ महिना सकिँदा रु १९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार बजेट खर्च भएको उनले बताए ।

बिनियोजित बजेटमध्ये प्रदेश लोकसेवा आयोगले ४७ दशमलव ६९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ४५ दशमलव १८ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ४४ दशमलव ७९ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४३ दशमलव १२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४२ दशमलव ७१ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १४ दशमलव ०१ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत संज्यालले बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category