npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

विश्व राजनीतिमा धूम मच्चाउँदै बालेन, टाइम म्यागजिनको प्रभावशाली व्यक्तिको सूचीमा

अनलाइन टीभी नेपाल 16 hours ago

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विश्व राजनीतिमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । धेरै नबोली आफ्नो प्रभाव छाड्न सफल बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

म्यागजिनले बुधबार सन् २०२६ का सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । सूचीमा प्रभावशाली व्यक्तित्वलाई अग्रणी कलाकार, दिग्गज, नवप्रवर्तक, आइकन, नेता र मार्गदर्शक विधामा छुट्याइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तरिक रहमानसहित २४ जना राजनीतिक क्षेत्रका व्यक्तिसँगै बालेनको नाम समावेश गरिएको छ ।

म्यागजिनका प्रधानसम्पादक स्याम ज्याकोबका अनुसार विभिन्न क्षेत्रमा विश्वको दिशा निर्धारण गरिरहेका व्यक्ति यसमा छन् । यो सूची केवल सफलता वा लोकप्रियताका आधारमा नभई विश्वव्यापी प्रभाव, सोच परिवर्तन गर्ने क्षमता तथा समाजमा दीर्घकालीन योगदानका आधारमा तयार गरिएको म्यागजिनले जनाएको छ । २०२६ संस्करणमा विशेषगरी ती व्यक्तिलाई समावेश गरिएको छ, जसले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा नयाँ सोच, प्रविधि र नेतृत्व प्रस्तुत गरिरहेका छन् ।

यस वर्षको सूचीमा विभिन्न देशका राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, उद्यमी, कलाकार र वैज्ञानिक छन् । बालेन तीन वर्षअघि सन् २०२३ मा ‘टाइम १०० नेक्स्ट’को सूचीमा पनि सूचीकृत भएका थिए । टाइम म्यागजिनका एडिटर–एट–लार्ज चार्ली क्याम्पवेलले बालेनको ‘प्रोफाइल’ लेखेका छन् । जसमा भनिएको छ, ‘पैसा रुखमा फल्छजस्तो लाग्छ ती मानिसहरूका लागि जसले आफ्नो इमानदारी बेच्छन्,’ बालेन्द्र शाह (बालेन र्‍याप गर्छन् ।

३५ वर्षीय नेपाली पूर्वहिप–हप स्टार, जो मार्चमा भएको निर्वाचनमा हिमाली देश नेपालका कान्छा प्रधानमन्त्री बनेका छन् । त्यो ऐतिहासिक जित गत शरद ऋतुमा भएको घातक सडक आन्दोलनले बल दिएको थियो, जुन जेन–जीको नेतृत्वमा भएको थियो । आन्दोलनले भ्रष्ट र जनतासँग टाढा रहेको पुरानो राजनीतिक वर्गलाई हटाउन चाहन्थ्यो ।

यही आन्दोलनबाट उदाएका शाह, जसलाई आम रूपमा बालेन भनेर चिनिन्छ, सिभिल इन्जिनियरिङ अध्ययन गरेका व्यक्ति हुन् । उनका गम्भीर स्टेज प्रस्तुति र भ्रष्ट अधिकारीविरुद्धका कडा अभिव्यक्तिले चार वर्षअघि उनलाई काठमाडौंको मेयर बनायो । र,अहिले नेपालका करिब तीन करोड जनताको नेता बनाएको छ । बालेनको उदय केवल पपुलिष्ट युवा विद्रोह मात्र होइन, दक्षिण एसियाको पुरानो वंशवादी राजनीतिक संरचनाको अस्वीकृति पनि हो । यसले क्षेत्रीय सत्ता संरचनामा ठूलो तरंग पैदा गरेको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category