निरजद्वारा उपाधि रक्षा
काठमाडौं (हाम्रो खेलकुद) – निरज तामाङ सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि रक्षा गरेका छन्।
करियरको पाँचौं उपाधि जित्ने क्रममा आज निरजले १० औं वरीयताका टंक बहादुर कार्कीलाई ३/२ ले माथ दिए।
यो सिजनको दोस्रो उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले आज टंकलाई कुनैपनि समय मौका नै दिएनन्।
यसअघि दाबेदार भुवनसँगै रवि खड्कालाई क्वाटर फाइनल र सेमिफाइनलमा हराएर फाइनलमा पुगेका टंकले निरजलाई चुनौती दिने अनुमान गरिएको थियो। तर त्यसो हुन सकेन।
रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा कुनै पनि समय टंकले निरजलाई उछिन्न सकेनन्। नवौं होलको समाप्तिमा निरजले २-० को अग्रता बनाएका थिए।
१८ औं होल सकिंदा भने ५-० को स्पष्ट अग्रता बनाए। यसपछि २० औं होल टंकले जित्दै अग्रता ४-० मा झारे। तर २२ औं होलमा उत्कृष्ट इगल प्रहार गर्दै निरजले अग्रता फेरि ५-० मा पुर्याए। ५-० ले पछि परेका टंकले खेलमा फर्कने संकेत देखाए।
उनले२३ औं, २४ औं र २५ औं होल जित्दै टंकले अग्रता २ होलमा घटाए। तर यसपछि ३३ औं होल निरजले जिते। ३ होलको खेल बाँकी छँदा ३ होलले पछि परेका टंकलाई ३४ औं होल जित्नुको विकल्प थिएन। तर यो होल बराबरीमा सकिएसँगै निरज २ होल अगाडि ३/२ को जितका साथ उपाधि रक्षा गर्न सफल भए।
निरजले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरे। टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके। टंकले ७५ हजार हात पारे। छेटौं वरियताका रवि खड्का तेस्रो भए। उनले चौथो वरियताका सञ्जय लामालाई ३/१ ले हराए। तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।
तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो।
क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापति र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे। पहिलो चरणबाट बाहिरिएका सूर्य प्रसाद शर्मा, भुवन कुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धन बहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार रुपैयाँ प्राप्त गरे।
The post निरजद्वारा उपाधि रक्षा first appeared on हाम्रो खेलकुद.