तिनकुने पर्यटन महोत्सव: १३ वर्षपछि राजेश पायलको प्रस्तुति
चुलाचुली । इलामको चुलाचुलीमा जारी तिनकुने पर्यटन महोत्सव तिनकुने पर्यटन महोत्सवको छैटौँ दिन चर्चित गायक राजेश पायल राईले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्।
नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक राजेश १३ वर्षपछि चुलाचुली क्षेत्रमा प्रस्तुत हुन लागेका हुन्। यसअघि उनी पहिलोपटक २०७० वैशाख २० गते शान्ति स्तुपा उद्घाटन समारोहमा सहभागी हुन चुलाचुली-२ आएका थिए।
यसपटक तिनकुने पर्यटन महोत्सवका लागि राई तेस्रोपटक चुलाचुली आउन लागेका हुन्। गत वर्ष चुलाचुली-३ र ४ को सिमानामा आयोजित दोस्रो ऐना पोखरी महोत्सव २०८१ मा उनको दोस्रो सांगीतिक प्रस्तुति रहेको थियो।
कला र संस्कृतिको केन्द्र मानिने यस गाउँपालिकामा विभिन्न समयमा नाट्य तथा धार्मिक महोत्सवहरू आयोजना हुँदै आएका छन्। यस वर्ष भने ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ भन्ने नाराका साथ तिनकुने पर्यटन महोत्सव २०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ।
चुलाचुली-२ स्थित मोरङ्गे झोडा तिनकुने पोखरीको खुल्ला मैदानमा गत चैत २५ गतेदेखि सुरु भएको यस महोत्सवमा यसअघि नै गायक शैल लिम्बु, पदम राई तथा स्थानीय सांगीतिक ब्याण्ड र कलाकारहरूले दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन्।
महोत्सवको अन्तिम दिन अर्थात् वैशाख १ गते गायिका पूजा लामाको विशेष प्रस्तुति रहनेछ। सोही दिन चुलाचुली रंगमञ्चको भाका संगीत समूहले पनि आफ्नो कला प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। नयाँ वर्षको आगमनसँगै वैशाख १ गते महोत्सव समापन हुने जानकारी कार्यक्रम संयोजक नगिन्द्र श्रेष्ठले दिए।
