PalikaNews
सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन
महोटरी — मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँका रूपमा चिनिने मुसहर बस्ती अझै पनि लालपुर्जाविहीन रहेको छ । चार पुस्तादेखि सोही स्थानमा बसोबास गर्दै आए पनि बस्तीका कुनै पनि परिवारसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) छैन ।
स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार बस्तीमा रहेका ७५ घरपरिवारमध्ये एक जनासँग पनि आफ्नो नाममा लालपुर्जा छैन । “हाम्रा बाजे–बुबादेखि यहीँ बस्दै आएका हौँ, तर अहिलेसम्म जग्गाको लालपुर्जा पाएका छैनौँ,” उनले भने, ।
सोही बस्तीमा पाँचौँ पुस्तासमेत बसोबास गर्दै आएको बताउने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार बस्तीमा वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासहित करिब ३७० जनसङ्ख्या रहेको छ । तर, जग्गाको कानुनी स्वामित्व नहुँदा उनीहरू सधैं अन्योल र असुरक्षामा बाँच्न बाध्य छन् ।
बस्तीका अर्का स्थानीय ५० वर्षीय शङ्कर सदाले आफूहरूले अहिलेसम्म लालपुर्जा नपाएको मात्र होइन, लालपुर्जाले के काम गर्छ भन्ने जानकारीसमेत नपाएको बताए । “जग्गा हाम्रो हो कि होइन भन्ने कानुनले नचिनेपछि डर लागेर बस्नुपर्छ,” उनको भनाइ छ ।
मटिहानी नगरपालिका–४ का वडाध्यक्ष अब्दुल गफार राईनका अनुसार मुसहर समुदाय अत्यन्त अभाव र जोखिमपूर्ण अवस्थामा जीवन बिताइरहेका छन् । “उनीहरूसँग बसोबास गरेको घरबाहेक अन्य जग्गा छैन । भएका थोरै जग्गाको पनि लालपुर्जा छैन,” उनले भने, । वडाध्यक्ष राईनका अनुसार कसैको एक धुर, कसैको दुई धुर त कसैको चार धुर जग्गा भए पनि कानुनी स्वामित्व स्थापित हुन सकेको छैन ।
उनले एक वर्षअघि नापी टोली बस्तीमा पुगेर जग्गा नापजाँच गरिसकेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी चाँडै लालपुर्जा वितरण गर्ने पहल भइरहेको बताए । “नापी कार्य सम्पन्न भइसकेको छ, अब प्रक्रिया पूरा गरेर मुसहर बस्तीका परिवारलाई लालपुर्जा उपलब्ध गराउने तयारीमा छौँ,” वडाध्यक्ष राईनले भने ।
लालपुर्जाविहीनताका कारण राज्यका विभिन्न सुविधा र अधिकारबाट वञ्चित हुँदै आएको मुसहर समुदाय अब कानुनी स्वामित्व पाउने आशामा बसेका छन् ।