राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स र पासपोर्ट एक हप्ताभित्र उपलब्ध गराउने कांग्रेसको प्रतिज्ञा
काठमाडौं । कांग्रेसले राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स, राहदानी जस्ता प्रमाणपत्रहरू एक हप्ताभित्र सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ। कांग्रेसले बिहीबार आफ्नो चुनावी प्रतिज्ञपत्र सार्वजनिक गर्दै सार्वजनिक सेवाप्रवाहहरुलाई ‘फास्ट ट्रयाक’ मा गर्ने उल्लेख गरेको हो।
सार्वजनिक सेवा लिँदा नागरिकले भोग्नुपर्ने प्रक्रियागत हैरानीको अन्त्य गर्ने लक्ष्य कांग्रेसले लिएको हो। त्यसका लागि पद, कागजपत्र र आन्तरिक प्रक्रियालाई प्राथमिकता दिने परम्परागत ‘कार्यालय केन्द्रित प्रणाली’ लाई बदलेर आधुनिक र प्रभावकारी ‘नागरिक केन्द्रित सेवा’ अवलम्बन गर्ने कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरेको छ।
‘प्रक्रियामुखी होइन नतिजामुखी सेवा सेवाप्रवाह र प्रक्रियागत झन्झटसँग असान्दर्भिक तीन दर्जन कानुन तीन महिनाभित्र एकैपटक खारेज वा संशोधन गर्छौं,’ कांग्रेसले प्रतिज्ञापत्रमा भनेको छ, ‘हरेक घण्टा, हरेक दिन वा हरेक हप्तामा सकिने सेवाको समय तोकी सो सेवा समयमै सुनिश्चित गर्ने छौं र नभएमा सम्बन्धित अधिकारी जवाफदेही हुनुपर्ने व्यवस्था गर्छौं।’
यसैगरी, सेवा निवृत्त राष्ट्रसेवकलाई निवृत्तिभरण लगायतका सुविधाहरू प्राप्त गर्न राजधानी आउनैपर्ने बाध्यता अन्त्य गर्ने योजनामा कांग्रेस छ।
‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने अवस्थाबाट मुक्त गर्दै आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका सबैको सेवामा समान सम्मान र मर्यादा सुनिश्चित गर्नेमा पनि कांग्रेसले प्रतिज्ञापत्रमा जोड दिएको छ।
राष्ट्रिय परिचयपत्रका आधारमा जुनसुकै जिल्लाबाट राहदानी लिन सकिने एवम् परिचयपत्र आवश्यक पर्ने सबै निकाय, संस्था तथा प्रत्येक सेवा लिने विन्दुमा राष्ट्रिय परिचयपत्रबाटै काम गर्ने गरी अन्य परिचयपत्र समेत यसैमा आबद्ध गर्दै सेवालाई सहज र प्रभावकारी बनाउने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।
The post राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्स र पासपोर्ट एक हप्ताभित्र उपलब्ध गराउने कांग्रेसको प्रतिज्ञा appeared first on BIZMANDU.