PalikaNews
२३५ परम्परागत बाजा गुरुलाई काठमाडौँ महानगरले गर्यो सम्मानित
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्य तथा कार्यपालिकाअन्तर्गतका विभिन्न समितिका संयोजकहरुले बाजा गुरुहरुलाई सम्मान गरेकी थिईन् ।
सम्मानित गुरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका छन्। यस्तै गुंलाबाजं व्यवस्थापन तथा संरक्षण संघबाट सिफारिस भएका २६ टोलका एक–एक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलका १४ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ४ टोलका ४ जना तथा विभिन्न संघसंस्थाबाट सिफारिस भएका ७ जना बाजा गुरु सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले परम्परागत बादन संस्कृतिलाई जोगाइराख्न बाजा गुरुहरुको योगदान अमूल्य रहेको बताइन् । “परम्पराको संरक्षण अहिले आँखाले देखिने परिणाम नदेखिए पनि यसको मूल्य अत्यन्तै ठूलो हुन्छ,” उनले भनिन्,“युवापुस्ताको बढ्दो आकर्षणले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ । स्वार्थ र फलको अपेक्षा नगरी संस्कृति बचाउन लागिरहनुभएका गुरुहरुलाई शब्द र नगदबाट गरिने सम्मान पर्याप्त नहुन सक्छ, तर महानगरपालिकाले उच्च आदरभाव प्रकट गर्न खोजेको हो ।”
सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानले अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । “बादन संस्कारले मूर्त सम्पदालाई जीवन्त बनाएको छ, र यो परम्परा बाजा गुरुहरुकै कारण जोगिएको हो,” उनले भने, ।
कार्यक्रममा समितिका सदस्य एवं वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले बाजा गुरुहरुले अरु अवसर त्याग गरेर संस्कृतिको संरक्षण गरेको उल्लेख गर्दै महानगरपालिका गुरुहरुप्रति सधैँ अनुग्रहित रहेको बताए । वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले परम्परागत बाजा गुरुहरुको सम्मान गर्न पाउँदा महानगरलाई गर्व महसुस भएको धारणा राखे ।
ज्यापु महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यलगायत वक्ताले गुरुहरुलाई सम्मान गरेपछि राज्यबाट संरक्षण पाएको अनुभूति भएको बताए। साथै बाजागाजा उपलब्ध गराउने, बजाउने तालिम र धार्मिक–सामाजिक कार्यमा बादन संस्कारलाई प्रवर्धन गर्न महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रममा विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा बाजा गुरु सिफारिस गर्ने संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई काठमाडौँ महानगरपालिकाको संस्थागत इतिहासको जग मानिन्छ। विसं २०५२ मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको थियो र यही दिनलाई महानगर दिवसका रूपमा मनाइँदै आएको छ । दिवसको अवसरमा आज प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न हुनुका साथै नारायणचौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।