npl.977 Nepal News Stream

RONB post logo RONB post

सामाजिक सञ्जालमार्फत जथाभावी औषधि सिफारिस गर्नेलाई कारबाही

RONB Post 11 hours ago

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श दिने तथा औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने, अनलाइनमार्फत उपचार सल्लाह दिने र बिरामीको गोपनीयता भंग गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको हो।

काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा जारी सूचनामा टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने काउन्सिलको भनाइ छ।

त्यस्तै, स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले पेशागत आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ। बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्दा बिरामीको अनुहार तथा पहिचान गोप्य राख्नुपर्ने काउन्सिलले स्पष्ट पारेको छ।

काउन्सिलले सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य तथा पेशागत मापदण्डको पालना गर्नुपर्नेमा जोड दिएको छ। निर्देशन उल्लंघन गर्ने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ।

The post सामाजिक सञ्जालमार्फत जथाभावी औषधि सिफारिस गर्नेलाई कारबाही appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category