संस्थागत आयकर २० र भ्याट १० प्रतिशतमा झार्ने कांग्रेसको प्रतिज्ञा, करसम्बन्धी द्विविधा हटाउने
काठमाडौं । नेपाली कांग्रेसले राजस्व नीति र दरमा फेरबदल गर्दै लगानीमैत्री नीति लिने प्रतिज्ञा गरेको छ। चुनावी घोषणापत्रमार्फत कांग्रेसले संस्थागत आयकरलाई क्रमशः २० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ।
कांग्रेसले वस्तु र सेवाको निर्यातमा १० प्रतिशत, सूचना प्रविधि निर्यात व्यवसायमा ५ प्रतिशत र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत आयकर कायम गर्ने उल्लेख गरेको छ।
विभिन्न नाममा लगाइएका स–साना करहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा समाहित गरी दायरा विस्तार गर्ने र यसको एकल दरलाई क्रमशः १० प्रतिशतमा झार्ने पनि कांग्रेस घोषणापत्रमा उल्लेख छ।
त्यस्तै करको भारबाट सर्वसाधारणलाई राहत दिन व्यक्तिगत आयमा सुरुको १० लाख रुपैयाँसम्म आयकर नलगाउने नीति लिने जनाएको छ।
व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशतभन्दा नबढ्ने गरी प्रगतिशील प्रणाली लागू गर्ने र वार्षिक १ करोड रुपैयाँभन्दा माथिको आयमा मात्र अतिरिक्त शुल्क लगाउने उल्लेख छ।
भन्सार महसुलका दर र तहहरू क्रमशः कम गर्दै व्यापारलाई सहजीकरण गर्ने, अन्तःशुल्क लाग्ने वस्तुहरूको संख्या घटाउँदै आधुनिकीकरण गर्ने कांग्रेसले घोषणापत्रमा ल्याएको छ।
त्यस्तै, कर प्रशासनमा रहेका द्विविधा हटाउँदै सरकारका तहहरूबीच करको दोहोरोपनालाई पूर्णरूपमा निर्मूल गरी सङ्घीयताको भावना अनुरूपको कर अवधारणा लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
स्वदेशी तथा वैदेशिक लगानी, उद्योग, निर्यात र आयातमा देखिएका करसम्बन्धी द्विविधाहरू हटाउन कानुन परिमार्जन गरी कर प्रणालीमाथि विश्वास अभिवृद्धि गराउने नीति लिने जनाएको छ।
राजस्व संकलन प्रक्रियालाई सरल, पारदर्शी र न्यायपूर्ण बनाउँदै भ्रष्टाचार कम गर्न व्यापक प्रक्रियागत सरलीकरण गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ।
‘राजस्व प्रशासनलाई व्यावसायिक र सेवा–केन्द्रित बनाउँदै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत यसलाई पूर्णरूपमा स्वचालित, फेसलेस र पेपरलेस बनाउछौं,’ कांग्रेस घोषणापत्रमा उल्लेख छ।
The post संस्थागत आयकर २० र भ्याट १० प्रतिशतमा झार्ने कांग्रेसको प्रतिज्ञा, करसम्बन्धी द्विविधा हटाउने appeared first on BIZMANDU.