npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सेयर खरिदका लागि गृहमन्त्री गुरुङले लिएको ३७ लाख ५० हजारको ऋण तमसुक सार्वजनिक

इन्द्र कमल रोक्का 1 hour ago

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दुईवटा बिमा कम्पनीको सेयर खरिद गर्नका लागि लिएको ऋणको तमसुक सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. १ को कार्यालयमा प्रमाणित गरिएको कपाली तमसुकअनुसार गृहमन्त्री गुरुङले ३७ लाख ५० हजार रुपैयाँ ऋण लिएर सेयरमा लगानी गरेको खुलासा भएको हो।

सार्वजनिक भएको तमसुकको विवरणअनुसार गोरखा जिल्ला, गण्डकी गाउँपालिका वडा नं. ३ घर भएका ३६ वर्षीय गुरुङले काठमाडौं–१ निवासी ६८ वर्षीय विजय कुमार श्रेष्ठबाट उक्त रकम ऋण लिएका हुन्। २०८० साल वैशाख २६ गते एनएमबि बैंकको चेक नम्बर १०२०८३८५१२ मार्फत सो रकम लेनदेन भएको तमसुकमा उल्लेख छ। उक्त ऋण पत्रलाई २०८० भदौ २९ गते वडा कार्यालयमा विधिवत् दर्ता गरी प्रमाणित गरिएको देखिएको छ।

तमसुकमा उल्लेख भएअनुसार गृहमन्त्री गुरुङले सो ऋण रकम दुईवटा लघु बिमा कम्पनीको संस्थापक सेयर खरिदमा प्रयोग गरेका छन्। उनले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १२ हजार ५०० कित्ताका लागि १८ लाख ७५ हजार र स्टार माइक्रो इन्स्योरेन्सको समान १२ हजार ५०० कित्ताका लागि १८ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेका हुन्।

आफ्नो लगानी र सम्पत्तिको स्रोतमाथि विपक्षी दलहरूले प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरेका छन्। उनले आफ्नो लगानी पूर्ण रूपमा पारदर्शी रहेको दाबी गर्दै ऋणको लिखित तमसुक सरकारी रेकर्डमै रहेको स्पष्ट पारेका छन्। “मैले लगानी गरेको रकम ऋणमार्फत जुटाइएको हो र त्यसको लिखित प्रमाण छ,” उनले भनेका छन्, “सबै कारोबार बैंकिङ च्यानलमार्फत भएकाले यसलाई लुकाएको भन्न मिल्दैन।”

Read more news from Kendrabindu

Explore by Source or Category