PalikaNews
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
धनगढी – सुदूरपश्चिममा उत्सवकै रूपमा स्थापित हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारसँगै संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको हो ।
महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा र परम्परा झल्कने थारू कला प्रदर्शनी घर सञ्चालनमा छ । प्रदर्शनी घरमा थारू समुदायले प्रयोग गर्ने परम्परागत पहिरन, खेतीपाती तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री, विभिन्न कलात्मक चित्रलगायत सामग्री राखिएका छन् ।
यसैगरी, प्रदर्शनी घर परिसरमा थारू समुदायका परम्परागत खानाका परिकारसहित ३० वटा व्यापारिक कक्ष सञ्चालनमा रहेका छन् । ती कक्षमा माछाको सिद्रा, घोँगी, ढिक्री, झिँगा माछा तथा परेवा, मुसा, बङ्गुर, गङ्गटा लगायत विभिन्न प्रकारका मासुका परिकार बिक्रीका लागि राखिएका छन् ।
प्रदर्शनी घरमा थारू परिकारसँगै थारू संस्कृतिका गीत, नाचगानको प्रस्तुति पनि हुने गरेको छ । अवलोकनका लागि आउने दर्शकले थारू लोकगीत सुन्ने र नाचगानमा रमाउने अवसर पाउने गरेका छन् ।
प्रदर्शनी घरका सञ्चालक बलीचरण चौधरीले पछिल्लो समय लोप हुँदै गएका थारू जातिका लोककला, संस्कृति तथा खानपान जगेर्ना गर्ने उद्देश्यले थारू कला प्रदर्शनी घर सञ्चालनमा ल्याइएको बताए । उनले हरेक वर्ष महोत्सवस्थलमा प्रदर्शनी घर राख्दै आएको र यसको व्यवस्थापनका लागि करिब १० लाख रुपैयाँ लगानी गरिएको जानकारी दिए । यसबाट करिब १५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
“यहाँ मात्र नभई देशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमा पनि थारू सङ्ग्रहालय तथा थारू कला प्रदर्शनी घर सञ्चालन गर्दै आएको छु । यसले आम्दानीसँगै आफ्नो समुदायको लोकसंस्कृति, खानपान र रहनसहनको प्रचारमा पनि सहयोग पुगेको छ,” चौधरीले भने ।