npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

टक्सार न्युज 20 hours ago

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शक्तिशाली सो समितिको सभापतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समितिको नेतृत्व दिने निर्णय गरिएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यसैगरी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारी हरि ढकाललाई बनाउने निर्णय गरेको छ ।

त्यसैगरी अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकीलाई बनाउने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा सभापतिको उम्मेदवार आकृति अवस्थी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजश्वी शेरचन, संसदीय सुनुवाई समिति सभापतिको उम्मेदवार बोधनारायण श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताए ।

उनले भने, “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजश्वी शेरचनज्यू । त्यस्तै संसदीय सुनुवाई समिति सभापतिको उम्मेदवार हुनुहुन्छ बोधनारायण श्रेष्ठज्यू । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति । यो पनि संयुक्त समिति हो । यसमा पार्टीको तर्फबाट सभापति उम्मेदवार हुनुहुन्छ सांसद गणेश कार्कीज्यू । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासज्यू सभापतिको उम्मेदवार बन्नु भएको छ । संसदीय अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकी ज्यू हुनुुहुन्छ । र, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सभापतिमा रहवर अन्सारीज्यु उम्मेदवार हुनुहुन्छ । एउटा सार्वजनिक लेखा समितिको हामीले प्रमुख प्रतिपक्ष दल त्यसको सभापति हुने अपेक्षा राखेका छौँ ।”

सो पार्टीले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई सभापतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । 

Read more news from Taksar News

Explore by Source or Category