सातदोबाटो इटहरी गोल्डकपको सेमिफाइनलमा
इटहरी (हाम्रो खेलकुद)- सातदोबाटो युथ क्लब १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २-० ले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो।
इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन सुरजज्यु ठकुरी र समिर तामाङले गोल गरे। खेलको ३१औं मिनेटमा सुरजले झण्डै ३० यार्ड टाढाबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भयो।
३५औं मिनेटमा समिरले गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को अग्रता दिलाए।
जागृतिका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै राज भुषालको प्रहार गोलपोस्टमा लागेर फर्किएको बललाई समिरले सजिलै गोलमा परिणत गरे ।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि जागृति सफल हुन सकेन र आयोजक टोली पहिलो खेलबाटै बाहिरियो। विजयी टोलीका समिर तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।
अब सातदोबाटोले बिहीबार हुने प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीचको विजेतासँग शनिबार दोस्रो सेमिफाइनलमा खेल्नेछ ।
प्रतियोगिताको फाइनल बैशाख ७ गते हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
The post सातदोबाटो इटहरी गोल्डकपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.