PalikaNews
१६औँ शताब्दीको इखा पोखरी पुनर्निर्माण अन्तिम चरणमा, ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति
काठमाडौं – काठमाडौं महानगरको वडा नं. १७, १८ र २५ को बीचमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको १६औँ शताब्दीको इखा पुखु (इखा पोखरी) को पुनर्निर्माण कार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।
महानगरपालिकाको करिब ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण भइरहेको यस पोखरीको काम तीव्र गतिमा अघि बढिरहेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिए ।
पुनर्निर्माण भइरहेका इखा पुखुको कुल क्षेत्रफल करिब साढे सात रोपनी रहेको छ । यसमध्ये करिब पाँच रोपनी क्षेत्र पोखरीमा पानी भर्नका लागि छुट्याइएको छ भने बाँकी क्षेत्रलाई परम्परागत संरचना, पैदलमार्ग र सौन्दर्यीकरणका लागि प्रयोग गरिने योजना छ ।
ऐतिहासिक पोखरीको मौलिक स्वरूप जोगाउँदै आधुनिक प्रविधिसहित पुनर्निर्माण गरिँदै आएको काठमाडौं महाजगरले जनाइएको छ । स्थानीय बासिन्दा तथा सम्पदा सरोकारवालाहरूले इखा पुखु पुनर्निर्माणपछि सांस्कृतिक पहिचान संरक्षण हुनुका साथै सहरी वातावरण सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरेका छन् ।
निर्धारित समयमै निर्माण सम्पन्न गरी पोखरीलाई पुनः सार्वजनिक उपयोगमा ल्याउने तयारी रहेको आयोजनाले जनाएको छ ।