PalikaNews
अब काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन
काठमाडौं, — नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा वाइफाइ सुविधासहितको रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ । सेवा नयाँ वर्षको सुरुवाती अर्थात बैशाख १ गते मैगलबार हिजो रातिदेखि सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिका बीच समन्वय र सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि पुल्चोकबाट सेवा सुरु गरिएको हो ।
समझदारीपत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गरेका छन् ।
प्रारम्भिक चरणमा सात वटा बस सञ्चालनमा ल्याइएका छन्। बसमा अगाडिको भाग, चालक र यात्रुको गतिविधि निगरानी गर्न चार वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ, जसलाई नियन्त्रण कक्षबाट प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ । यात्रुको सुरक्षाका लागि प्रत्येक बसमा एक जना नगर प्रहरीसमेत खटाइएको छ ।
सेवा उद्घाटन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले रात्रिकालीन यातायातलाई दिगो बनाउँदै आगामी दिनमा बिहानको सेवा पनि सुरु गर्ने योजना रहेको बताइन् । “नयाँ वर्षसँगै महत्त्वपूर्ण सेवाको सुरुआत भएको छ, अब हाम्रो लक्ष्य चुस्त र गुणस्तरीय सेवा प्रदान गर्नु हो,” उनीले भनिन् ।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले स्थानीय तहबीचको सहकार्यले सेवा दिगो हुने विश्वास व्यक्त गरे । चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले दैनिक ठूलो सङ्ख्यामा हुने आवतजावतलाई सहज बनाउने कताए भने बुढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले स्थानीयवासीमा सेवाप्रति उत्साह देखिएको जानकारी दिए ।
यो सेवा साझा यातायात सँगको सहकार्यमा सञ्चालन गरिएको हो। साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलका अनुसार आगामी असार मसान्तसम्म सेवा सञ्चालनको लागत साझा यातायातले व्यहोर्नेछ भने त्यसपछि स्थानीय तहहरूले लागत साझेदारी गर्ने योजना बनाइएको छ ।
रात्रि बस सेवा दुई मुख्य रुटमा सञ्चालन हुनेछ । दक्षिण रुटमा लगनखेलदेखि बुढानीलकण्ठसम्म पाटन अस्पताल, प्रसूति गृह, वीर अस्पताल, शिक्षण अस्पताललगायत क्षेत्र समेटिने छन्। पूर्व–पश्चिम रुटमा थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म कलंकी, कालीमाटी, सुन्धारा, बानेश्वर हुँदै सेवा सञ्चालन गरिनेछ ।
हरेक बस बिसौनीमा करिब २० मिनेटको अन्तरमा सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । यस सेवाले राति यात्रु आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।